दशैंमा बिक्री गर्न राखेका खसी, बोकाको रगतको नमूना परीक्षण सुरु, ४ दिनमा रिपोर्ट आउने



काठमाडौं । दशैमा बिक्रीका लागि ल्याइएका खसी, बोका, भेडा, च्याङ्ग्रामा महामारी रोग छ कि छैन ? थाहा पाउन महानगरले मंगलबारबाट रगतको नमूना संकलन र परीक्षण थालेको छ ।

टुकुचामा खोटाङ्, नेपालगञ्ज, सिन्धुपाल्चोक, काठमाडौंलगायत बिभिन्न जिल्लाबाट ल्याइएका खसी बोका र मनाङ्बाट ल्याइएको च्याङ्ग्राको रगत संकलन गर्दै महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले सुरु गरेका छन् ।

‘स्वच्छ मासु र पशुजन्य खाद्यबस्तुका लागि हामीले पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमूना संकलन र परीक्षण थालेका हौं ।’ नमूना लिँदै डा झा ले भने ‘अहिले लिइएको रगतको नमूना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडि (खोरेत), पिपिआर लगायत रोग परीक्षण गर्छौं । यसबाट कुन-कुन जिल्लाका पशुमा कस्ता—कस्ता खालका समस्या छन् । थाहा पाउन सकिन्छ ।’

उनले नमूना संकलन र परीक्षणको कामलाई नियमित गर्ने बताए । ‘अहिले रगतको नमूना लिएका छौं । हामी मासु, अण्डा, दानालगायत पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको संकलन र परीक्षण गर्छौ’ उनले भने ।

नमूना संकलनका लागि महानगरले संघ सरकार अन्तर्गतको पशुसेवा बिभाग, प्रदेश सरकार अन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रसँग समन्वय गरेको छ ।

यससँगै चौपायाको स्वास्थ्य परीक्षण गरेर निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउँदै आएको छ । डा. झाका अनुसार मंगलबार लिइएको नमूनाको नतिजा आउन ४ दिन समय लाग्छ ।


क्लिकमान्डु