दशैंमा खसी, बोका, भेडा, च्याङ्ग्रा किन्दै हुनुहुन्छ ? यसोभन्छ महानगर
काठमाडौं । यसबर्ष काठमाडौंमा खसी, बोका, भेडा च्याङ्ग्राको माग कति हुने हो ? अहिले नै भन्न सकिने अवस्था नभएको व्यापारीहरुले बताउन थालेका छन् ।
महानगरको पशु सेवा महाशाखाले कलंकी खसी बजारको निरीक्षण गर्न क्रममा व्यापारीले ‘हरेक बर्षको दशैंमा कलंकी खसी बजारबाट औसत ५० देखि ६० हजार चौपाया बिक्री हुने गरेको बताउँछन् ।
महामारीले कति मानिस उपत्यका बाहिर गए ? कति जान्छन् ? दशैं कसरी मनाउँछन् ? भन्न सक्ने अवस्था नभएकाले चौपायाको खरिद बिक्री अनुमान गर्न सक्ने अवस्था नभएको उनको भनाइ छ ।
काठमाडौं चौपाया खरिद बिक्रीले यसपटक दशैमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ । यसरी आउने चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट ३ वटा टोली परिचालन हुने भएका छन् । दशैं पर्वमा खानका लागि प्रयोग हुने मासुजन्य खाद्य उत्पादनलाई स्वस्थ्य, स्वच्छ र गुणस्तरीय बनाउन हामी ३ टोली खटाउँदै छौं ।
महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झा भन्नछन् ‘डा. पूजा खनाल, डा. अञ्जिरमान सिंह डंगोल र डम्मरबहादुर बमको नेतृत्वमा ३ वटा टोली बनाएर चौपायाको स्वास्थ्य जाँच गर्दैछौं । संघ र प्रदेश सरकारसँग समन्वय गरेर तोकिएका ठाउँबाट स्वस्थ्य चौपाया बिक्री गर्ने गराउने हाम्रो दायित्व हो । त्यसैले तोकिएका ठाउँको व्यवस्थापन र नतोकिएका ठाउँबाट हुने बिक्रीलाई नियमन गर्नेछौं ।’
माछा मासुजन्य खाद्यबस्तु तथा दूध र डेरीजन्य खाद्यबस्तुको नमूना संकलन गर्ने, प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेर्नेछौं ।
दशैंमा प्रयोग हुने चौपायामध्ये च्याङ्ग्राको संख्या घटेकाले भाउ बढेको छ । चौपाया खरिद विक्री प्रा. लि. का अध्यक्ष जनककुमार खड्काका अनुसार मुस्ताङ्मा च्याङ्ग्राको मूल्य जिउँदोमा प्रति किलो ७५० हुँदा पुगेको छ । स्थानीय प्रशासनले सुरुमा यसको मूल्य ६ सय तोकेको थियो । यो मूल्यमा बिक्री नभएपछि पछि बढाएर ७५० पु¥याइएको हो ।
खड्काका अनुसार काठमाडौंमा यदि ६० हजार खसी बोकाको माग भयो भने आयात माग पूरा गराउन सकिन्छ । ल्याउन सकिने अवस्था छ । तर, ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन ।
काठमाडौंको ठूलो खसी बजार भनेको कलंकी हो । यो बजारमा स्टल लिएर व्यापार गर्ने २९ जना व्यापारी थिए । तीमध्ये १६ वटाले व्यापार छाडे । अहिले १६ स्टलबाट व्यापार भइरहेको छ । यी स्टलसँग व्यापार गर्ने बढीमा १ सय जना व्यापारी होलान् । लकडाउनले व्यापारीको संख्या घटायो ।
चौपाया खरिद बिक्री प्रा. लि. का पदाधिकारीकाअनुसार, यस बजारबाट मासिक औसत ४० हजार चौपाया खरिद बिक्री हुने गरेको छ । पछिल्लो समय सहरका केही ठाउँका मासु पसलले महिनामा १ हजारवटाभन्दा धेरै चौपायाको मासु बेच्न थालेका छन् । ती पसलले चौपाया सोझै खरिद गरेर ल्याउन थालेका छन् ।
महानगरको कलंकी र टुकुचामा खसी बजार छ । यसै गरी दशैका बेला काठमाडौंकै आकाशेधारा कपन, चाल्नाखेल, चन्द्रागिरी, भक्तपुरको लोकन्थली र सल्लाघारी, ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ ।
स्वच्छ मासुका लागि काठमाडौं भित्रिने नाकाहरु नागढुङ्गा, दक्षिणकाली, बालाजु, साँगामा निगरानी बढाउने गरिन्छ । काठमाडौं ल्याइने च्याङग्राहरुको संकलन मुस्ताङ्को कोरला नाकामा हुने भएकोले यस क्षेत्रमा पनि बिशेष निगरानी बढाउने गरिन्छ ।