स्वास्थ्य सामग्री अभाव हुन दिँदैनौ, बिरामी अस्पतालको गेटबाट फर्कनु नपरोसः मन्त्री ढकाल



काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले देशभरका ठूला अस्पतालका निर्देशकहरूसँग भर्चुवल माध्यमबाट छलफल गरेका छन ।

कोभिड-१९ को विरूद्धमा फ्रन्ट लाइनमा बसेर काम गरिरहेका चिकित्सक, नर्स र स्थ्यकर्मीको मनोबल बढाउने अभिप्रायले आयोजित छलफलमा मन्त्री ढकालले अस्पतालले कोभिड-१९ विरूद्धको काममा भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा जानकारी लिएका छन् ।

मन्त्री ढकालले कुनै पनि समस्यामा मन्त्रालय र मन्त्रीसँगै रहेको भन्दै समाधानका लागि प्रभावकारी रूपमा आफ्ना विषय उठान गर्न अनुरोध गरेका छन् । उनले सबैको सहयोगले मात्र कोरोना नियन्त्रण गर्न सकिने भएकाले ठोस उपचार नदेखिएको अवस्थामा सावधानीपूर्ण जीवनशैलीका लागि सबैलाइ प्रेरित गर्नुपर्ने बताए ।

चाडबाडको मुखमा हुने भीडभाडले कोरोनाको जोखिम अझै बढ्ने सम्भावना रहेको औल्याउँदै मन्त्री ढकालले नागरिकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न अस्पताल निर्देशकहरूलाइ निर्देशन दिए ।

उनले सरकारले स्वास्थ्य सामग्रीको अभाव हुन नदिने बताउँदै बिरामी अस्पतालको गेटबाट फर्कनु नपर्नेगरी काम गर्न निर्देशन दिए ।

छलफलमा २५ अस्पतालका निर्देशकले सहभागिता जनाएका थिए । उनीहरूले कोभिड-१९ का कारण भोगिरहेका समस्या, अहिले गरिरहेका काम र स्वास्थ्य मन्त्रालयले तत्काल गरिदिनुपर्ने काम लगायतका विषय मन्त्रीसँग राखेका थिए ।


क्लिकमान्डु