संसारभर कोरोना भाइरसबाट साढे १० लाखको मृत्यु, यस्तो छ भारतको अवस्था



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या सोमबारसम्म १० लाख ४१ हजार ८९३ जना पुगेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार कोभिड–१९ बाट सङक्रमित हुनेको संख्या विश्वभर ३करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको छ ।

कूल सङ्क्रमितमध्ये २ करोड ६६ लाख ३१ हजार भन्दा बढी हजार निको छन् भने करिब ७७ लाख ३३ हजार मानिस सक्रिय सङ्क्रमित छन् ।

विश्वभर अझै पनि ६६ हजार भन्दा बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ ।

पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख ३६ नाघिसकेको छ ।

कोरोना सङक्रमणबाट अमेरिकामा हालसम्म २ लाख १४ हजार ६११ जनाको मृत्यु भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प दुवैलाई कोरोना भाइरस संक्रमण भएको छ ।

कोरोना सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको अर्थात विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको देश भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या एक लाख नाघेको छ ।

सोमबारसम्म प्राप्त समाचारअनुसार भारतमा ६६ लाख २३ हजार ८१५ जना कोरोना भाइरस सङ्क्रमित भएको र यस सङ्क्रमणबाट १ लाख २ हजार ७१४ जनाको मृत्यु भईसकेको छ ।

कोरोना सङ्क्रमणलाई हेर्दा तेस्रो स्थानमा रहेको देश ब्राजिलमा ४९ लाख १५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा एक लाख ४६ हजारको मृत्यु भएको छ ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा १२ लाख १५ हजार भन्दा बढी सङ्क्रमित रहेका छन् भने २१ हजार ३५८ जनाको मृत्यु भएको छ भने दैनिक सङ्क्रमितको संख्या पनि बढ्दो छ ।

युरोपेली मुलुकहरु खासगरी बेलायत, फ्रान्स, स्पेन र इटालीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

भारतमा ६६ लाख संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा ७४ हजार ४४२ जना कोरोनाभाइरस संक्रमित व्यक्ति थपिनुका साथै नौ सय जना थप व्यक्तिको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा सोमबारसम्ममा कूल संक्रमितको संख्या ६६ लाख नाघेको छ । यस्तै कोरोना संक्रमितमध्ये मृत्यु भएका व्यक्तिको संख्या १ लाख २ हजार ६८५ पुगेको छ ।

भारतमा ५५ लाख ८६ हजार व्यक्ति निको भए पनि अझै ९ लाख ३४ हजार मानिस सक्रिय संक्रमित अवस्थामा छन् ।

सर्वाधिक प्रभावित महाराष्ट्रमा २ लाख ५५ हजार व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने ३८ हजार भन्दा बढीको ज्यान गएको छ ।

यस्तै कर्नाटकमा एक लाख १५ हजारभन्दा बढी व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका र ९ हजार २८६ जनाको मृत्यु भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले हालसम्म ७ करोड ९९ लाख नमूना परीक्षण गरेको जनाएको छ ।


पुष्प दुलाल