होटेल माउन्टेन र ल्याण्डमार्कका सञ्चालक रविन्द्र र मिनर्भा मल्ललाई ऋण तिर्न बैंकको अल्टिमेटम



काठमाडौं । कृषि विकास बैंकले पटक-पटक ऋण तिर्न ताकेता गर्दा पनि व्यवसायी रविन्द्रमान मल्लले ऋण नतिरेपछि बैंकले धितो राखेको सम्पत्ति लिलामी गर्ने सार्वजानिक सूचना निकालेको छ ।

बैंकले सोमबार एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै तत्काल ऋणको सावाँब्याज भुक्तानी नगरेर लिलामीको प्रक्रिया अघि बढाउने जनाएकोछ ।

मल्ल दम्पत्तिले बैंकलाई ८७ करोड ८५ लाख ६६ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ ।

बैंकले २०७२ सालमा पनि यस्तै चेतावनीपूर्ण सूचना निकालेको थियो ।

मल्ल दम्पत्तिले कान्तिपथस्थित माउन्टेन र कमलादीस्थित ल्याण्डमार्क होटल धितो राखेर ऋण लिएका थिए ।

२०७२ सालमा मल्लले ६२ करोड २७ लाख ६५ हजार रुपैयाँ तिरिसक्नुपर्ने थियो । उक्त रकम नतिरेपछि अहिले बढ्दै बढ्दै गएर ८७ करोड ८५ लाख रुपैयाँ पुगेको हो ।

कोरोना भाइरसको कारण भएको बन्दाबन्दी भन्दा अगावै कर्जा भखा नघाई पटक पटक कर्जा असूलीको लागि गरेका प्रयासहरुका बाबजुत कर्जा नतिरी नबुझाए ग्राहकहरुले यथाशिघ्र बैंकमा सम्पर्क राखी कर्जा नियमित वा चुक्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

मल्ल दम्पत्ति यसअघि नै ऋण तनिरेर कर्जा सूचना केन्द्रको कालोसूचीमा परिसकेका व्यक्ति हुन् ।

मल्ल भने बैंकको ऋण तिर्नभन्दा अदालतको आदेश ल्याएर लिलामी प्रक्रिया रोक्न लागि परेका छन् । यसअघि ३ पटक अदालतबाट लिलामी प्रक्रिया रोक्ने आदेश ल्याउन सफल उनी अहिले पनि सहजै त्यस्तो आदेश ल्याउन लागि परेका हुन् ।

कृषि विकास बैंकको मात्रै होइन, रविन्द्रकी मिनर्भा र छोरा सार्थक मल्लका नाममा माउन्टेन प्लाजा धितो राखेर ०६४ मा ग्राण्ड बैंकबाट लिएको १७ करोड रुपैयाँ पनि तिरेका छैनन् ।

त्यतिमात्रै होइन, ल्याण्डमार्क र माउन्टेन होटेल देखाएर मल्लले सर्वसाधारणसँग पनि करोडौं रुपैयाँ ऋण लिएका थिए । त्यो ऋण पनि उनले तिरेका छैनन्।

‘मल्लका नाममा काठमाडौं जिल्ला प्रसासन कार्यालयले दर्जनौ पटक पक्राउ पुर्जी जारी गरेको छ तर प्रहरीले हालसम्म उनलाई फक्राउ गरेको छैन,’ मल्लबाट ठगिएकाहरु भन्छन् ।

राष्ट्रिय सतर्कता केन्द्रले मल्ललाईं किन कारवाही नगरेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई प्रष्टिकरणसमेत लिइसकेको छ । तर, पनि प्रहरीले पक्राउ गरेको छैन ।

मल्ल बिरुद्ध करौडौ रुपैयाँ बराबरको बाउन्स चेक जारी गरेको भन्दै हनुमान ढोका प्रहरी परिसरमा दर्जनौ उजुरी छन् ।


पुष्प दुलाल