दोस्रो नेपाल–भारत फ्रेन्चाइज सम्मेलन यही असोज ३० देखि प्रारम्भ हुँदै



काठमाडौं । नेपाली र भारतीय ब्राण्ड र आगन्तुकहरूलाई एकै मंचमा जुटाई एकअर्का देश बीच लगानी, प्रविधि एवं व्यवसायिक मोडलहरू आकर्षित गर्ने उद्देश्यले यही असोज ३० देखि आगामी कार्तिक २ गतेसम्म पहिलो पटक भर्चुअलका माध्यमबाट नेपाल इन्डिया फ्रेन्चाइज सम्मेलन भर्चुअल माध्यमबाट हुने छ ।

सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल फ्रान्चाइज.कमको साझेदारीमा नेपालस्थित भारतीय राजदूतावास आयोजना गर्न लागेको हो ।

कार्यक्रममार्फत नेपाल तथा भारतका प्रशिद्ध व्राण्डहरू र अवलोकनकर्ताहरूलाई एउटै छानामुनी ल्याई दुवै देशका एक सयभन्दा बढी प्रतिष्ठित ब्राण्डहरूले आफ्ना अवसरहरूको प्रदर्शनी गर्ने छन् भने सम्मेलनलाई दुई हजार भन्दा बढी योग्यलगानीकर्ताहरूले फ्रेन्चाइज, डिलरशीप तथा अनुमतीपत्र लगायतमा व्यवसायिक अवसरहरू खोज्ने महत्वपूर्ण माध्यमको रूपमा उपयोग गरी लाभ उठाउने छन् ।

गएको वर्ष काठमाडौंमा सम्पन्न पहिलो नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलनको अभुतपूर्व सफलता पश्चात कार्यक्रमलाई एक स्थापित कार्यक्रमकोरूपमा विकास गर्ने लक्ष्य अनुसार दोस्रो संस्करणको रूपमा यो सम्मेलन आयोजना गर्न लागिएको हो ।

कोभिड–१९ को विश्वमहामारीका कारण यस वर्षको नेपाल भारत फ्रान्चाइज एक्सपो तथा सम्मेलन भर्चुअलका माध्यमबाट आयोजना हुन लागेको हो । यो सम्मेलनलाई नेपाल भारत बीच लगानी प्रवद्र्धन, स्थापित स्टार्टअपहरू तथा फ्रेन्चाइज आदान प्रदानको महत्वपूर्ण मंचको रूपमा हेरिएको छ ।

पहिलो एक्सपोमा नेपालका स्थापित १० र भारतका ५० गरी जम्मा ६० वटा स्थापित ब्राण्डहरूको सफल सहभागिता रहेको थियो । उक्त एक्स्पोले २ हजारभन्दा बढी ख्याती प्राप्त उद्यमी व्यवसायीहरूलाई प्रत्यक्ष अवसर प्रदान गर्नुको साथै कार्यक्रम मार्फत व्यवसायिक अवसर विस्तार गर्न, सम्बन्ध सुधार गर्न, नयां अवसर तथा नविनतम सोंचको आदान प्रदानमा महत्वपूर्ण उपलव्धी हासिल गरेको थियो ।


क्लिकमान्डु