६०% रेमिट्यान्स सम्पत्ति शुद्धीकरणमा प्रयोग !



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराई वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पठाउने रेमिट्यान्स बारे सनसनीपूर्ण खुलासा गरेका छन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले कमाएको ६० प्रशित रकम सम्पत्ति शुद्धीकरणको काममा प्रयोग भएको दाबी गरेका छन् ।

‘वैदेशिक रोजगारीमा गएकाहरुले कमाएको मध्ये ४० प्रतिशत रकम मात्रै रेमिट्यान्सका रुपमा नेपाल आउने गरेको छ,’ भन्सार विभागको वार्षिक गोष्ठीमा सहभागी महानिर्देशक भट्टराईले भने, ‘६० प्रतिशत रकम सम्पत्ति शुद्धीकरणमा प्रयोग भइरहेको छ ।’

व्यापारका माध्यमबाट गम्भीर प्रकृतिका सम्पत्ति शुद्धीकरणका घटनाहरु भएको बताउँदै उनले थपे, ‘सरोकारवाला निकायको यसतर्फ ध्यान जानुपर्छ, यो विषयमा गंभीर छलफल आवश्यक छ ।’

राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ८ खर्ब ७५ अर्ब रूपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत साउन महिनामा मात्रै अघिल्लो वर्षको साउनकोभन्दा २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।

‘यसको झन्डै दोब्बर रकम सम्पत्ति शुद्धीकरणमा प्रयोग भइरहेको छ,’ भट्टराईले भने ।

महानिर्देशक भट्टराईले सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग र भन्सार विभागबीच व्यापारिक क्रियाकलापका सूचना आदानप्रदान गरी आपराधिक क्रियाकलाप रोक्न सहयोगी भूमिका खेल्नुपर्ने बताए ।

रेमिट्यान्स व्यवसायी तथा राष्ट्र बैंकले हुण्डीको कारोबार बन्द भएका कारण कोरोना कहरमै पनि बैधानिक च्यानलबाट भित्रिने रेमिट्यान्स बढेको भनिरहेका बेला विभागका महानिर्देशक भट्टराईले यस्तो दलिल प्रस्तुत गरेका हुन् । भट्टराईको यो दाबी निकै गंभीर विषय हो । यदि उनले भनेजस्तै हो भने राज्यको यसतर्फ गंभीर ध्यानाकर्षण हुन जरुरी छ ।


पुष्प दुलाल