विदेशमा रहेका ९२ प्रतिशत नेपाली कोरोनामुक्त
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विदेशमा विभिन्न समयमा संक्रमित नेपाली मध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन् ।
संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएका छन् ।
स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको ज्यान गएको छ । समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ ।
समितिका संयोजक डा. संजीव सापकोटाका यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो ।
यस्तै नेपालमा मात्र ८४ हजार ५ सय ७० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये ६२ हजार ७ सय ४० जना कोरोनामुक्त भएका छन ।
यो कुल संक्रमितको ७४.२ प्रतिशत हो । कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ । तीमध्ये ९८ हजार ६ सय ५६ कोरोना भाइरसबाट मुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले सार्बजनिक स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ ।