नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन इजरायलसँग सम्झौता



काठमाडौँ । नेपालमा ईजरायली कृषि प्रविधि भित्र्याउन सातवटै प्रदेशमा ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्वन्धि समझारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल र ईजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले जानकारी दिइन । समझदारीपत्रमा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत शाक्य र ईजरायलको तर्फबाट इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीले हस्ताक्षर गरेका हुन् ।

ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था (मसाभ) को उपस्थितिमा ईजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको हो । मसाभ इजरायली सरकारको उच्चस्तरको आधिकारिक संस्था हो ।

नेपालको तर्फबाट हस्ताक्षर गर्न असोज ११ गते बसेको मन्त्रिपरिषद्ले निर्णय गरेर राजदूत शाक्यलाई अनुमति दिइसकेको थियो । गत मंसिरमा राजदूत शाक्यको विशेष पहल र नेपाल सरकारको निमन्त्रणामा मसाभ प्रमुख गील हासकेलको टोली नेपाल भ्रमणमा आएको थियो । पाँच दिनको नेपाल बसाइपछि स्वदेश फर्किएको सो टोलीले नेपाल बसाइका क्रममा प्रधानमन्त्रीसँगै परराष्ट्र, अर्थ, शिक्षा, कृषि, स्वास्थ्य र ऊर्जामन्त्रीलगायतसँग भेट गरेको थियो ।

विश्वका १ सय बढी मुलुकका विज्ञहरुलाई तालिम र सीप विकासको तालिमसँगै प्रविधि हस्तान्तरण गर्दै आएको सो संस्था इजरायलको स्थापनासँगै इजरायलको विकासका लागि खोलिएको हो ।

मसाभले नेपालमा एग्रिकल्चर, स्मार्ट ग्रिड सेन्टर अफ एक्सीलेन्स वीथ सोलुसन र सेन्टर अफ एक्सीलेन्स इन एजुकेशन, साइन्स, कल्चर एण्ड स्पोर्ट गरी सरकारसँग सम्झौताका लागि प्रक्रिया अघि बढाएको थियो ।

समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब नेपालमा कृषि पूर्वाधार निर्माणले तीब्रता पाउने शाक्यको भनाई छ । ‘कृषि प्रधान देश नेपालका लागि यो ठूलो उपलब्धी हो,’ राजदूत शाक्यले भनिन् ‘यो सम्झौतासँगै अब स्वदेश र विदेश दुबैमा नेपाली युवाका लागि रोजगारीका अवसर प्राप्त हुनेछन् भने नेपाललाई कृषिमा आत्मनिर्भर हुन यो प्रविधि हस्तान्तरले ठूलो योगदान दिने अपेक्षा छ ।’

उनले पूर्वाधार निर्माणका सिलसिलामा कृषि क्षेत्रमा उल्लेख्य रोजगारीका अवसर सिर्जना भई नेपाली युवाहरुको विदेशिने क्रममा समेत कमी आउने अपेक्षा गरेको जानकारी दिइन ।

त्यसैगरी बुधबार नै नेपाल र ईजरायलबीच ‘ईजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारी सम्बन्धी सम्झौता’ मा हस्ताक्षर सम्पन्न भएकोपनि राजदूत शाक्यले जानकारी दिइ ।

सम्झौतामा नेपालको तर्फबाट ईजरायलका लागि नेपाली शाक्य र ईजरायलको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री गावी अस्केनाजीको हस्ताक्षर रहेको छ । योसँगै अब ईजरायली श्रम बजार नेपालीका लागि खुला भएको छ। यसले केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल–रेष्टुरेष्ट, निर्माण लगायतका क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिलाउनेछ ।

दूतावासले कार्यान्वयन चरणमा गए लगत्तै प्रत्येक क्षेत्रका लागि श्रमिक भर्नाको प्रक्रिया सुरु हुने पनि जानकारी दिएको छ । त्यसका लागि पनि छिट्टै सम्झौता हुने दूतावासले जानकारी दिएको छ ।
राजदूत शाक्यले यसअघि नै विभिन्न चरणमा छलफल भई सहमति भएको भन्दै पहिलो क्षेत्रका रुपमा ईजरायलको नर्सिङ क्षेत्रमा नेपालबाट केयरगिभर ल्याउने सम्बन्धी र त्यसका लागि छिट्टै सम्झौता हुने जानकारी दिएको छ ।
राजदूत शाक्यका अनुसार नेपालका लागि ईजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच सो काठमाडौंमा छिट्टै हस्ताक्षर हुने र त्यसको केही महिनाभित्रै पहिलो चरणमा करीब बढी नेपालीहरु ईजरायल आउन सक्ने जानकारी दिइन ।


क्लिकमान्डु