कर्मचारीमा कोरोना पुष्टि भएसँगै ताहाचलको कार्यालयमा श्रम स्वीकृति सेवा बन्द



काठमाडौं । वैदेशिक रोजगार अन्तर्गत काठमाडौंको ताहाचल कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द भएको छ । कार्यालका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि श्रम स्वीकृतिको सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयमा कार्यरत एक कर्मचारीलाई नै संक्रमण देखिएपछि कार्यालयबाट प्रदान गरिने सेवा बन्द गर्नुपरेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गरागाईँले जानकारी दिए ।

उनका अनुसार कार्यालयमा ५७ जना कर्मचारी कार्यरत रहेकोमा एकजना केही दिनदेखि बिरामी भएको र कोरोना पोजेटिभ आएका कारण आजबाट सबै सेवा बन्द गरिएको हो ।

साथै, ४,५ दिनसम्म अरू कर्मचारीको अवस्था के हुन्छ त्यही अनुसार कार्यालयबाट अर्को सूचना नआएसम्म बन्द गरिने निर्णय गरेको उनले बताए ।

सरकारले गत फागुन २९ बाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी सरकारले गत असार १८ गते पुनः श्रम स्वीकृति र भदौ १४ गतेबाट नयाँ श्रम स्वीकृति समेत खोल्न निर्णय गरेको थियो ।


क्लिकमान्डु