घरधनीलाई महानगरको अपिलः भाडामा बस्नेलाई पिसीआर परीक्षणमा बाध्य नपार्नु



काठमाडौं । काठमाडौं महानगर भित्र घर भाडामा लिइ बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पिसीआर परीक्षणका लागि बाध्य नबनाउन काठमाडौं महानगरले घरधनीहरुलाई अपिल गरेको छ ।

महानगरको जनस्वास्थ्य महाशाखाले अपिल जारी गर्दै, कसैलाई पनि पिसीआर रिपोर्टका लागि बाध्य नबनाउन अनुरोध गरेको हो ।

डेरामा बस्ने व्यक्ति तथा परिवारलाई घरधनीले र औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई उद्योग तथा कलकारखानाले पिसीआर परीक्षण गर्न बाध्य पारिएको गुनासा आएका छन् । अपिलका विषयमा स्पष्ट पार्दै महाशाखा प्रमुख हरिबहादुर कुँवर भने ‘संकटको घडीमा समस्या व्यवस्थापन गर्न यस्तो आग्रह गरिएको हो ।’

कोरोना (सार्स कोव २) भाइरसको प्रभाव देखिन कम्तीमा ५ दिन लाग्ने भएकोले अनुपयुक्त समयमा परीक्षण गर्नु र नगर्नुमा फरक हुँदैन । त्यसैले लक्षण नदेखिइ परीक्षण नगर्नु भन्ने महानगरको आशय हो ।

‘लक्षण देखिएका बिरामीको परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले तोकेका जुनसुकै स्वास्थ्य संस्थामा गए पनि हुन्छ । अहिले सचेत हुनुपर्ने समय हो’ निर्देशक कुँवरले भने ‘त्रसित भएर समस्याको समाधान हुँदैन, त्यसैले समाजमा सद्भाव बढाउन र समस्याका समाधानका लागि समन्वय गर्नुको बिकल्प छैन ।’ अपिलमा महामारी बिरुद्ध एकजुट भइ लड्न सबैमा आग्रह गरिएको छ ।


क्लिकमान्डु