प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्नः विद्युत् महसुलमा किन लगाएको जरिवाना ?



काठमाडौं । लकडाउन तथा निषेधाज्ञाको समयमा ग्राहकलाई महसुल नतिरेकै कारण जरिवाना लगाएको भन्ने गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणको नेतृत्वलाई बोलाएर किन त्यसो गरेको भन्दै जिज्ञासा राखेका छन् ।

लकडाउन तथा निषेधाज्ञामा ग्राहक घरबाट बाहिर निस्कन नपाएको कारण समयमा नै विद्युत् महसुल तिर्न सक्ने अवस्था थिएन । तर प्राधिकरणले ग्राहकको सो वाध्यता नहेरी धमाधम जरिवाना लगाउन थालेको थियो ।

महामारीको समयमा अनावश्यक तवरले जरिवाना लगाएको भन्दै उनले मंगलबार प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई बोलाएर किन जरिवाना लगाएको भन्ने प्रश्न गरेका थिए ।

उनले महामारीको समयमा ग्राहक महसुल तिर्न कसरी आउने भन्दै सोही कारण जरिवाना लगाएर गलत सन्देश नदिन र यसअघि जरिवाना लगाएको भए आगामी महिनाको महसुलमा समायोजन गर्न समेत निर्देशन दिएका छन् ।

मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइराला र उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण निर्देशनालयका प्रमुख हरराज न्यौपानेलाई मन्त्रालयमा बोलाएर तत्काल जरिवाना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

मन्त्री पुनले जरिवाना किन लगाएको, कुन आधारमा त्यस्तो निर्णय भएको हो भन्ने बारेमा समेत चासो राखेका थिए ।

कोरोना नियन्त्रणका लागि गरिएको लामो बन्दाबन्दीका कारण प्राधिकरणका अधिकांश ग्राहस्थ र औद्योगिक ग्राहकको मिटर रिडिङ हुन सकेको थिएन ।

कतिपय ग्राहकबाट उक्त अवधिमा मिटर रिडिङ नभएका कारण जरिवाना लगाइएको गुनासो आएपछि मन्त्री पुनले तत्काल प्राधिकरणको उच्च नेतृत्वलाई बोलाएर जरिवाना नलगाउन निर्देशन दिए ।

‘जरिवाना लिएको त्यो अब बुझाउने शुल्कमा मिलान गर्नुस् र जरिवाना नलिने व्यवस्था मिलाउनुस्’ , मन्त्री पुनले भने । उनले सो अवधिको तत्काल मिटर रिडिङ गराउन र कर्मचारी गएर रिडिङ गर्न नसेकेको अवस्थामा ग्राहक आफैंलाई मिटरको नम्बर टिपाएर शुल्क लिन आग्रह गरे ।


पुष्प दुलाल