सहकारी बने सदस्यका सहयोगी, ब्याज छुटदेखि घरदैलो सेवासम्म सुविधा



काठमाडौं । कोरोनाको कहरका बीच आर्थिकरुपमा समस्यामा परेका सदस्यका लागि सहकारीहरु सारथी बनेका छन् ।

कोरोनाका कारण समस्यामा परेका सदस्यको दैनिक गुजारा चलाउन आवश्यक आर्थिक सहयोगदेखि, कोरोना परीक्षण, कृषकले उत्पादन गरेको उत्पादकको बजारिकणसम्म सहकारी संस्था सहयोगीको भूमिकामा काम गरिरहेका छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले कोरोनाको समयमा सहकारीहरुले आफ्नो क्षमता अनुसारको सबैखाले सहयोग गरेको बताए ।

सहकारी संस्थाहरुले आफ्ना सदस्यलाई मात्रै नभएर स्थानीय, प्रदेश र संघीय सरकारलाई १० करोड रुपैयाँभन्दा बढी सहयोग गरेको अध्यक्ष कँडेलको भनाइ छ ।

यस अवधिमा केही सहकारी संस्थाहरुले आफ्ना सदस्यलाई आधा पैसा आफूले बेहोर्ने र आधा पैसा सदस्यले बेहोर्ने गरी कारोना समेत परीक्षण गरेका छन् ।

यो बेला सहकारीले लगानी गरेको करोडौंको कृषिजन्य सामान समेत खेर गएको उनको भनाइ छ ।

‘सहकारीमार्फत् ६ लाख लिटर दुध उत्पादन हुन्थ्यो, तर लकडाउनको समयमा उक्त दुध, डीडीसी, अन्य निजी कम्पनीले नलिएकाले कारण करोडौं रुपैयाँ घाटा भएको छ,’ उनले भने ।

उनका अनुसार यस अवधिमा ३ लाख लिटर मात्रै दुध बिक्री भएको र बाँकी ३ लाख लिटर दुध बिक्री नभएको कारण दैनिक डेढ करोड रुपैयाँसम्म नोक्सान भएको अध्यक्ष कँडेलले बताए ।

यो बेलामा बचत तथा ऋणमा काम गर्ने सहकारी संस्थाहरुले आफ्ना सदस्यलाई विभिन्न माध्यमबाट प्रभावकारी सेवा दिएको उनको भनाइ छ ।

कतिपय सहकारी संस्थाहरुले त सुलभ पसल समेत खोलेर सेवा दिन थालेका छन् । त्यस्तै अधिकांश सहकारीहरुले ब्याजदरमा समेत छुट दिएका छन् । कँडेलका अनुसार सहकारी संस्थाहरुले १० देखि २० प्रतिशतसम्म ब्याजमा छुट दिइसकेका छन् ।

हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका सीइओ सुमनबिक्रम थापाका अनुसार लकडाउनको समयमा सहकारी संस्थाहरुले सदस्यलाई दिएको सेवाका कारण उनीहरुमा सहकारीप्रति निकै विश्वास बढेको बताए ।

यो समयमा सहकारी संस्थाले घरदैलोमै पुगेस समेत सेवा दिएको उनको भनाइ छ । कतिपय सहकारी संस्थाहरुमा तरलता नभएको जस्ता बाहनामा लकडाउनको समयमा बन्द भएका सहकारीहरु लकडाउन खुलेपछि पनि केही त बन्द हुने अवस्थामा पुगेको उनले बताए ।

यता लकडाउनमा पनि सदस्यको सेवालाई पहिलो प्राथमिकतामा राखेर दिएको सेवाका कारण अहिले हिलटपमा नयाँ सदस्य थपिएको, तरलता पनि थपिएको थापाले बताए ।

‘लकडाउन अगाडि हाम्रो सहकारीमा तरलता केही कम थियो, लकडाउनको समयमा सेवा दिएको कारण तरलता बढेको छ, सदस्यका सहभागिता पनि धेरै बढेको छ’ उनले भने ‘लकडाउनको अवधिमा हामीले मोबाइल एप बनायौं, क्युआर कोडमार्फत् सदस्यले सेवा पाउनु भयो ।’ यो अवधिमा सदस्यले घरमै बसेर सहकारी संस्थामा बचत गर्ने व्यवस्था पनि मिलाएको उनको भनाइ छ ।

कोरोनाको अवधिमा आफ्ना सदस्यहरुलाई कुनै समस्या भयो कि भनेर सम्पर्क गर्नका लागि विपद् व्यवस्थापन नीति बनाएर त्यसमा ५ सदस्यीय कमिटि बनाएर काम गरेको उनले जानकारी दिए । कमिटिमा सञ्चालक नै सदस्य थिए । कमिटिमार्फत् कोष समेत बनेको थियो ।

खान, बस्न असुविधा भएको, औषधि उपचारका लागि खर्च नभएका सदस्यके लागि संस्थाले सहयोग गरेको थापाले बताए ।

कोरोनाको अवधिमा श्रम गरेर दैनिक गुजारा चलाउने, अपाङंगता भएका सहित २४ जना सदस्यलाई कोषबाट प्रति सदस्य २ हजार रुपैयाँको दरले राहत दिएको थापाको भनाइ छ ।

यो बीचमा सहकारी संस्थाले उपलब्ध सबै सदस्यको कोरोना बीमा पनि गरेको उनको दावी छ । आधा पैसा सदस्य र आधा पैसा सहकारी संस्थाले नै बेहोरेको थापाले बताए । सहकारीले १ हजार ४ सय जनाको प्रतिव्यक्ति १ लाख रुपैयाँको दरले कोरोना बीमा गरेको छ ।

‘सदस्यको कोरोना बीमा गरेपछि उहाँहरुको नातेदारहरु पनि कोरोना बीमा गराइदिनुपर्यो भनेर धेरै आउनु भएको थियो’ सीइओ थापाले भने ‘सदस्यको आफन्तलाई हामीले सामोहिक रुपमा गरायौं, पैसा उहाँहरुले नै तिर्नु भयो ।’

त्यसैगरी नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका शाखा प्रबन्धक हरिप्रसाद पाण्डेले लकडाउनको अवधिमा संस्थाले सहकारीताको भावना अनुरुप आफ्ना सदस्यहरुलाई निरन्तर सेवा दिएको बताए ।

लकडाउन अवधिमा संस्थाका पदाधिकारीहरुलाई सम्पर्क व्यक्ति तोकी सेवा दिएको उनको भनाइ छ । संस्थाले सदस्यहरुको बीचमा वित्तीय मध्यस्थकर्ताको भूमिकामै काम गर्ने हुँदा कतिपय सदस्यहरु संस्थाको कार्यालय बन्द भएको कारण बचत गर्न नपाएको र कतिपय सदस्यलाई बचत भुक्तानी आवश्यक परिरहेको देखिएको उनको बुझाइ छ ।

त्यो समयमा संस्थाले सदस्यहरुलाई नै सम्पर्क व्यक्तिका रुपमा सहयोग लिएर सेवा दिएको पाण्डको भनाइ छ ।

यस्तै नवकान्तिपुरले मोबाइल बैंकिङ, एटीएम प्रणालीबाट पनि सदस्यलाई उच्च स्तरको सेवा दिएको उनको दावी छ । संस्थाले यस्तो सेवालाई प्राथमिकतामा राखेर काम गर्दा सदस्यलाई दैनिक परेको समस्या समाधान भएको उनको भनाइ छ ।

कोरोनाको अवधिमा सदस्यहरुको आवधिक बचत नविकरण फोन मार्फत नै गरेको उनको भनाइ छ । कर्जाको किस्ता भुक्तानी सकेसम्म अनलाइन माध्यम वा नजिकैको बैंक खातामा जम्मा गर्ने व्यवस्था गरेको उनको भनाइ छ ।

त्यस्तै जेठ मसान्तमा ब्याज भुक्तानी गर्ने सदस्यहरुलाई ३ महिनाको ब्याजमा १० प्रतिशत छुट, तथा असार मसान्तमा भुक्तानी गर्ने सदस्यहरुलाई ३ महिनाको ब्याजमा ५ प्रतिशत छुटको व्यवस्था गरेको उनको भनाइ छ ।

किस्ता तिर्न नसकेका सदस्यहरुलाई ४ महिनासम्म जरिवाना नलाग्ने व्यवस्था गरेको उनले बताए ।

ब्याजदरलाई समय सापेक्ष हेरफेर गरी नयाँ कर्जा लिने सदस्य तथा भाखा नाघी कर्जा नविकरण गर्ने सदस्यहरुलाई कम ब्याजदरमा कर्जा प्रदान÷नविकरण गर्ने व्यवस्था गरेको र यसले सदस्यलाई निकै आर्थिक सहायत मिलेको पाण्डेको धारणा छ ।

नवलपरासीको गैडाकोटमा रहेको बिकु बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले कोरोनाको समयमा सदस्यलाई केन्द्रमा राखेर सेवा प्रवाह गरेको बताए ।

बिकुले पहिलादेखि नै सदस्यलाई केन्द्रमा राखेर काम गर्दै आएको र कोरोनाको समयमा झन बढी सक्रियताका साथ सदस्यलाई परेको समस्या लगायत सबै कुरा बुझेर काम गरेको बताए ।

उनका अनुसार कोरोनोको असरपछि सरकारले लकडाउन गरेपनि बिकुले भने सरकारले तोकेको मापदण्ड पूरा गरेर संस्था खोलेर सबै सदस्यलाई आवश्यक सेवा दिएको बताए ।

कोरोनाको समयमा सदस्यलाई १० प्रतिशत अर्थात् करिब पौने २ करोड ब्याज छुट दिएको, कोरोनाका कारण समस्यामा परेका सदस्यलाई तीन महिनाका लागि १५ हजार रुपैयाँ निब्र्याजी सापटी दिएको, कोरोना बाहेक अन्य कारण कुनै सदस्य अस्पताल भर्ना भयो भने ५० हजार रुपैयाँसम्म तीन महिनाको लागि बिना ब्याज सहयोग गरेको बताए ।

सीइओ पौडेलका अनुसार अन्य समयमा इन्टरनेट बैंकिङ सेवा लिने सदस्यलाई पहिला लिने गरेको शुल्क यो अवधिमा नलिएको, आईटीलाई व्यवस्थित गरेर घरबाट नै इन्टरनेट बैंकिङको सेवा दिएको बताए । बिकु सहकारीले लामो समयदेखि एटिएम सेवा दिएरहेको छ ।

सहकारीको कार्डबाट देशको जुनसुकै ठाँउबाट पनि पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरेको उनले जानकारी दिए । पौडेलका अनसार ७५३ घर परिवारलाई सहकारीले कोरोनाको समयमा घरमा नै आवश्यक पैसा पुर्याएर सहयोग गरेको उनको भनाइ छ ।

यो बीचमा १ लाख बराबरको १४८८ जना सदस्यलाई सहकारीले कोरोना बीम गरेको छ । कोरोना बीमा गर्दा आधार रकम सदस्यले व्यवहोर्ने र आधा रकम सहकारीले व्यवहोरेको उनको भनाइ लरहेको छ ।

सहकारीले आन्तरिक रकम भुक्तानी र रकमान्तरको लागि क्यूआर कोड पेमेन्ट सिस्टममा पनि शुल्क नलाग्ने र ठूलो रकम पनि क्यू आर कोडबाट व्यवस्था गरेको बताए । यो बीचमा सुत्केरी तथा अन्य उपचारको लागि अस्पतालमा भर्ना भएका सदस्यहरुलाई अस्पतालमा पुगेर नगद उपलब्ध गराउने र त्यसका लागि ५० हजार रुपैयाँसम्म रहेको छ । अहिलेसम्म ९ जनालाई यो सेवा दिएको उनको तर्क छ ।

लकडाउनको समयमा नै कृषि र पशुपालनका लागि १० लाख रुपैयाँसम्म ९ प्रतिशत ब्याजदरमा ऋण दिएको र शुरु गरेको केही समय मात्रै भएकाले अहिले ८९ जनाले यो ऋण लिएको पौडेलको भनाइ छ ।

लकडाउनको समयमा निरन्तर चलिरहेको पेट्रोल पम्प, भेटनरी, औषधी पसल, खाद्यान्न खरिद बिक्रीका पसललाई रकम आवश्यक परे ऋण लगानी गर्ने र ३९२ लाई थप ऋण दिएको उनको भनाई छ ।

सहकारी दिएको सहजै सेवाका कारण पनि कतिपय सदस्य बैंक छोडेर सहकारीमा जोडिन आएको पनि उनको तर्क छ ।


क्लिकमान्डु