काठमाडौं । बजारमा चिनी अभाव भइरहेका बेलामा व्यवसायीहरुले भने चालु आवको पहिलो २ महिनामै सवा २ अर्ब रुपैयाँभन्दा बढीको चिनी आयात गरेका छन् । चिनीको अभाव भएसँगै बजारमा चिनीको भाउ ह्वात्तै बढेको छ ।
बजारमा कृत्रिम अभाव बनाएर चिनीको भाउ बढाएको व्यवसायीहरुले आरोप खेप्दै आएका छन् । यता दशैं नजिकिँदै गर्दा दुई सरकारी कम्पनीले चिनी आयातको ठेक्का पाएका छन् ।
सरकारले दशैं जस्तो चाडमा चिनीको अभाव नहोस भन्नका लागि साल्ट ट्रेडिङ कर्पोरेशनलाई २० हजार मेट्रिक टन र खाद्य तथा व्यापार कम्पनीलाई १० हजार मेट्रिकटन चिनी आयातका लागि जिम्मा दिएको छ ।
जसमध्ये साल्ट ट्रेडिङले हाल टेन्डर आह्वान गरेर जिम्मा दिइसकेको छ भने खाद्य तथा व्यापार कम्पनीले तिहारसम्म चिनी ल्याउने योजना बनाएको छ ।
यसअघि सरकारले २०७५ भदौ ३१ गते वार्षिक १ लाख मेट्रिकटन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेको थियो । उक्त निर्णयमा यो व्यवस्था २०७६ असार मसान्तसम्मका लागि भनिएको थियो । तर चालु आवको पहिलो महिनादेखि नै उक्त निर्णय हटेसँगै व्यवसायीहरुले चिनी आयात गरेका हुन् ।
तथ्यांक हेर्दा आर्थिक वर्ष २०७७÷०७८ को पहिलो दुई महिनामा नेपालले २ अर्ब २९ करोड ४० लाख ८७ हजारको चिनी आयात गरेको छ । दुई महिनाको अवधिमा नेपालले ४६ करोड ८९ लाख ६१ हजार २६ केजी चिनी आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।
नेपालले आयात गरेकोमा सबैभन्दा बढी छिमेकी देश भारतबाट ४६ करोड ८९ लाख ६१ हजार २६ सय केजी अर्थात २ अर्ब २९ करोड ८ लाख ६३ हजारको चिनी आयात गरेको छ ।
त्यस्तै, भन्सार विभागको तथ्याङ्क अनुसार अष्ट्रेलियाबाट ३२ लाख २५ हजारको चिनी आयात गरेको छ । साथै, सरकारले १ अर्ब ३१ करोड ५९ लाख ९९ हजार राजस्व संकलन गरेको छ ।
प्रतिक्रिया