कोरोनाले हुण्डी बन्द भएपछि नेपाल भित्रिने रेमिट्यान्स साउनमा मात्रै २३ प्रतिशतले बढ्यो



काठमाडौं । कोरोना कहरकैबीच वैदेशिक रोजगारीमा रहेकाहरुले नेपाल पठाउने रकम (रेमिट्यान्स) २३ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति नामक प्रतिवेदनमा ०७६ साउनको भन्दा ०७७ साउनमा नेपाल भित्रिने रेमिट्यान्स २३ प्रतिशतले बढेर ९२ अर्ब ७१ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

जबकि ०७५ साउनको तुलनामा ०७६ साउनमा रेमिट्यान्स २ प्रतिशतले घटेको थियो ।

विश्वभर लकडाउन र निषेधाज्ञाका कारण हुण्डीको कारोबार बन्द भएपछि रेमिट्यान्स आप्रवाह बढेको सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रमुख चन्द्र टन्डनले जानकारी दिए ।

‘कोरोना नियन्त्रणका लागि यतिवेला विश्वभर लकडाउन वा निषेधाज्ञा लगाइएको छ, जसकारण आवागमन असहज हुँदा हुण्डीको कारोबार ठप्प छ,’ टन्डनले क्लिकमाण्डूसँग भने, ‘विदेशबाट नेपाल पैसा पठाउनेहरुले बैंकिङ च्यानलमार्फत् मात्रै पठाउन सक्ने अवस्था भएको हुँदा रेमिट्यान्स आप्रवाह बढेको हो ।’

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा रेमिट्यान्स १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १९.० प्रतिशतले घटेको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८०.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर आय २०.० प्रतिशतले वृद्धि भई १०१ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले बढेको थियो


पुष्प दुलाल