विदेशबाट आएका महिलालाई नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्छ – मन्त्री गुरूङ



काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पर्वत गुरूङले वैदेशिक रोजगारीबाट आएका महिलालाई नेपाली समाजले नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृत्तिलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । शुक्रबार हाम्रो सम्मान परियोजनाको सहयोगमा वैदेशिक पत्रकार समाजले आयोजना गरेको ‘वैदेशिक रोजगारबाट समस्यामा परी फर्किएका महिला, बालबालिका तथा गर्भवती महिलाहरूको विषय’ वेविनार कार्यक्रममा बोल्दै मन्त्रीले सो बताएका हुन् ।

समाजमा सकारात्मक तथा नकारात्मक दुबै पक्ष भएकाले समाजमा रहेका सबै नेपालीहरूले वैदेशिक रोजगारबाट आएका महिलालाई सकारात्मक रुपमा हेर्नुपर्ने उनले बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट आएका महिला गर्भवती भएर मात्रै आउँछन् वा गर्भधारण गरेर मात्रै आउने मानसिकता परिवर्तन गर्नुपर्ने बताए ।

यस्तै कोरोना महामारीका कारण विदेशमा अप्ठ्यारोमा परेका महिलालाई उद्दार गरिएको उदाहरण दिँदै उनले भने, ‘कतिपय महिलाहरू गर्भवती भएर आएका छन् । तर अधिकांश छैनन् । विदेशमा गएर आएमा महिलालाई कहाँ बस्यो, कोसँग बस्यो । साथै समाजबाट बहिस्कृत, तिरस्कृत हुनुपर्ने र परिवारबाट अपिहेलित हुनुपर्ने जस्ता समस्यालाई सकारात्मक रुपमा रुपान्तरण गर्नुपर्छ ।’

यसका लागि सरकारले समाजमा रहेका मानिसको मानसिक तथा विचारलाई कसरी रुपान्तरण गर्ने र कसरी जनचेतना दिने भन्ने विषयमा विभिन्न संघसंस्थासँगको सहकार्यमा सरकारले सहयोग गर्ने बताए ।

‘विदेशबाट आएका महिलालाई हामीले अपमान नगरौं,’ उनले भने, ‘विदेशमा जाने महिला के कारणले बाध्य भएका छन् । फर्केर आएपछि त्यसको विष्लेषण गरौं र सुखदुख सुनौं ।’
उनका अनुसार विदेशमा जाँदा पनि ठगिएर रुँदै, शोषित भई जानुपर्ने र फर्केर आउँदा पनि समाजले बहिस्कार गर्ने परिस्थितिलाई कसरी परिवर्तन गर्ने भन्ने विषय महत्वपूर्ण रहेको बताए ।

साथै, सामाजिक संघसंस्थाले सामाजिक सेवाको भावनाले कुनै पनि व्यापार नगरी समाजका मानिसको मानसिक परिवर्तनको लागि काम गरेमा यस्ता विभिन्न विसङ्गती, विकृति आउन नसक्ने उनले दाबी गरे । ‘सच्चा मानवताको हिसाबले काम गरेमा यसको अन्त्य साँच्चै हुने र विगतको दिनमा दर्दानक अवस्था भोगेर नेपाल फर्केका महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन हुन्छ,’ उनले भने ।

त्यति मात्रै नभई विदेशबाट गर्भवती भएर फर्किएका महिलाले एउटा वेवारिशे बच्चालाई जन्म दिने जस्ता समस्यालाई कसरी मुक्त गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्नुपर्ने बताए ।
‘त्यसैगरी महिलालाई पठाउने म्यानपार कम्पनीलाई खारेज गरौं र विदेश जान बाध्य बनाउने सामाजिक तथा परिवारलाई संरचनालाई पहिचान गरौं र सकारात्मक दृष्टिकोण विस्तार गरौं,’ उनी भन्छन्, ‘यस्ता कार्यहरूको शुरुवातबाट गलत समाजको अन्त्य गर्नुपर्छ ।’

पौरखी नेपालका कार्यकारी निर्देशक अध्यक्ष मञ्जु गुरूङका अनुसार विदेशबाट आएका महिलाले निकै चुनौतीका साथ समाजमा बाँच्नुपर्ने बाध्यता रहेको बताइन् । उनका अनुसार विदेशमा यौन हिंसा गरेर गर्भवती हुने र समझदारीमा यौन गरेर गर्भवती भएको महिलालाई एउटै रूपमा हेर्न नहुने बताइन् ।

‘विदेशमा गएर पनि विभिन्न यौन हिँसा, विभेद भोगेर फर्केको हुन्छ,’ उनले भनिन्, ‘नेपाल आउँदा पनि परिवारले विश्वास नगर्ने, समाजले तिरस्कार गर्ने जस्ता धेरै समस्याले महिलाले झन नेपाली समाजमा विभिन्न विभेद सहनु पर्ने बाध्यता रहेको छ ।’

साथै, विदेशबाट आएका महिलालाई परिवार तथा समाजले स्वीकार नगर्ने, गर्भवती भई नेपालमा जन्म भएका बच्चाले नागरिकता नपाउने, राज्यविहिन हुनुपर्ने, विद्यालय भर्न गर्न नपाउने समस्या भएकाले सरकारले सहज वातावरण बनाउनुपर्नेमा उनले जोड दिइन् ।

त्यसैगरी सरकारले घरेलु कामदारको लागि द्विपक्षिय सम्झौता गरी महिला र घरेलुमैत्री बनाउनुपर्ने उनले बताइन् ।


क्लिकमान्डु