वैदेशिक व्यापार सुधारोन्मुख, आयात २२ % ले घट्दा निर्यात १० प्रतिशतले बढ्यो



काठमाडौं । पछिल्लो केही महिनायता नेपालको अन्तराष्ट्रिय व्यापारमा सुधार आएँदै गएको छ । भन्सार विभाग तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो २ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात २२.०७ प्रतिशतले घटेको छ भने निर्यात १०.४९ प्रतिशतले वृद्धि भएको छ ।

आयातको तुलनामा निर्यात बढ्न नसकेको कारण खर्बौको अन्तराष्ट्रिय व्यापारघाटा खेप्दै आएको नेपालमा केही सुधारको संकेत देखिएको हो ।

विभागको तथ्यांक अनुसार नेपालले चालु आवको साउन र भदौ महिनामा १ खर्ब ७८ अर्ब ८४ करोड रुपैयाँको आयात गरेको छ । गत आवको सोही अवधिमा २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँ बराबरको वस्तु तथा सामानत आयात गरेको थियो ।

साथै, गत आवको २ महिनतामा नेपालबाट १८ अर्ब ५० करोड १८ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान निर्यात भएको थियो । जुन चालु आवको सोही अवधिमा १०.४९ प्रतिशतले वृद्धि भएर २० अर्ब ४४ करोड ३० लाख रुपैयाँ पुगेको भन्सार विभागले जनाएको छ ।

आयात घटेसँगै नेपालको वैदेशिक व्यापार घाटा पनि २४.९२ प्रतिशतले घटेको छ । गत आवको २ महिनामा २ खर्ब ११ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा रहेकोमा चालु आवको सोही अवधिमा यस्तो घाटा ५२ अर्ब ५९ करोड रुपैयाँले घटेर १ खर्ब ५८ अर्ब रुपैयाँमा सीमित भएको छ ।


क्लिकमान्डु