प्याराग्लाइडिङ ठप्प भएपछि अन्य व्यवसाय शुरु गर्दै पाइलट



काठमाडौं । पोखरास्थित लेक साइडका सुवास थापाले प्याराग्लाइडिङ उडाउन थालेको ११ वर्ष भयो । भुकम्पबाट थलिएको प्याराग्लाइडिङ उठ्न नपाउँदै कोरोनाले पुनः शुन्यमा झारेको बताउँछन्, उनी ।

उनको सोलो, डबल र स्टन्ट गरी तीन वटा ग्लाइडर छन् । तर, चैतदेखि उनको ग्लाइडर थन्किएको छ ।

‘चिनियाँ पर्यटकले धेरै प्याराग्लाइडिङ गर्थे,’ उनले भने, ‘चिनमा कोरोना संक्रमण सुरु भएपछि त्यसको असर प्याराग्लाइडिङमा परेको थियो ।’

चीनमा कोरोना देखिन थालेपछि नै दिनमा एकचोटिमा मात्र उड्न पाउने भएपनि चैतदेखि ठप्प भएको उनले बताए ।

उनी अहिले ग्लाइडर निकाल्ने, सुकाउने काम गर्दै बस्छन् । हरेक सातामा उनी ग्लाइडर बिग्रने डरले निकाल्दै घाममा सुकाउँदै पुन राख्छन् ।

कोभिड अगाडि प्याराग्लाइडिङबाट मासिक १ देखि २ लाखसम्म उनको कमाइ हुन्थ्यो । भुकम्पपछि थलिएको प्याराग्लाइडिङ क्षेत्रलाई कोरोनाले झन उठ्न नसक्ने बनाएको उनले बताए । भुकम्पअघि ग्राहकको चाप लाग्ने प्याराग्लाइडिङ पनि गएर ग्राहक नै नपाउने सम्म भएको थियो ।

भुकम्पपछि प्याराग्लाइडिङ कम्पनी, पाइलट सबै बढेपनि ग्राहक नबढेपछि एउटा पाइलटले एउटा मात्र फ्लाइट गर्नु परेको थियो ।

‘चीनमा कोभिड-१९ देखिएपछि पुनः त्यस्तै अवस्था आएको थियो,’ उनले भने, ‘अब झन कस्तो होला तर वर्षोदेखि यहि क्षेत्रमा लागेपछि छोड्न पनि सकिदैन ।’

काम नभएपछि कति बस्नु भन्दै ३ महिनादेखि उनी कुखुरा पालनमा व्यस्त भएका छन् । उनी अहिले घरमै विभिन्न किसिमका कुखुरा पाल्दै छन् ।

करिब २० लाख खर्च गरेर उनले १०० वटा विविध जातका कुखुरा हालेका छन् । हाललाई अण्डा, कुखुराको चल्ला उत्पादन गर्ने उनको योजना छ ।

‘बाबाआमाले २ वर्ष अघिनै फार्म दर्ता गर्नु भएको थियो,’ उनले भने, ‘अहिले त्यहि फार्मलाई सञ्चालन गरिरहेको छु ।’

कहिले पर्यटक आवातजावत गर्ने अनि कहिले प्याराग्लाइडिङ क्षेत्र पहिल जस्तै हुनेमा उनी शंका गर्छन् । सामान्यतया पनि २/३ वर्ष लाग्छ होला, प्याराग्लाइडिङ क्षेत्र उक्सिन ।

थापाजस्तै पोखरा-२५ हेम्जाका हरि भण्डारीले पनि फुर्सदको समय सदपयोग गर्दै अर्को पेसा अपनाएका छन् । उनी ४ वर्षदेखि प्याराग्लाइडिङ उडाइ रहेका थिए । उनले व्यवसायीक रुपमा प्याराग्लाइडिङ उडाउन थालेको दुई वर्ष भयो । उनले ७ लाख रुपैयाँ खर्च गरी ग्लाइडर किने व्यवासयीक रुपमा उड्न थालेका हुन् ।

त्यस्तै उनले २५ लाख खर्च गरेर प्याराग्लाइडिङ उडाउन सिकेका थिए । कोभिड-१९ का कारण लकडाउन भएपछि उनी समयको सदुपयोग गर्दै पशुपालन गरिरहेका छन् । ८ लाख रुपैयाँ खर्च गरेर उनले २०० वटा बाख्रा अट्ने खोर बनाएका छन् । ठुला–साना, बाख्रा, खसी पालेका छन् ।

अहिले १५ वटा बाख्रा, ३५ वटा खसी पालिरहेका छन् । अहिले उनले एक जना कामदार राखेर पशुपालन गरिरहेका छन् । प्याराग्लाइडिङ सुरु भएपछि थप कर्मचारी राखेर आफु पहिलेकै व्यवसायमा फर्कने उनले बताए ।


पुष्प दुलाल