प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई ऊर्जामन्त्रीले सोधे- किन काटिरहेको विजुली ?



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले लगातार राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा विद्युत् काटिएको विषयमा चासो लिएका छन् ।

उनले बिहिबार मन्त्रालयमा सचिव तथा नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकलाई बोलाएर लगातार विद्युत् काटिनुको कारणका बारेमा सोधखोज गरेका हुन् ।

उनले लगातार विद्युत् किन काटियो भन्ने प्रश्न गर्दै कुनै पनि स्थानमा अकारण विद्युत् काटिएकोमा जनस्तरबाट गुनासो आएको भन्दै समस्याको सम्बोधन गर्न समेत निर्देशन दिए ।

उनले निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट बाहिरिने बित्तिकै बत्ती काटिनु आफैमा राम्रो नभएको भन्दै कनि त्यस्तो भएको हो भनेर प्रश्न गरेका थिए ।

उनले कुलमान घिसिङलाई पुनः कार्यकारी निर्देशक नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको र त्यसबारे छलफल भइरहेको भन्दै मन्त्री पुनले मुल नेतृत्व नभएको महसुस नहुने गरी कार्यसम्पादन गर्न निर्देशन दिए ।

‘जति दिन निमित्त कार्यकारीका रुपमा रहनुहुन्छ । म निमित्त हुँ भन्ने सोच नराख्नुस्, तपाईं अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पूर्ण अधिकारसहितको कार्यकारी निर्देशक हो, पूर्ण रुपमा इमान्दार भएर काम गर्नुस्’ मन्त्री पुनले प्राधकिरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निर्देशन दिए ।

उनले पछिल्लो केही दिनयता खराब मौसमका कारण विद्युत वितरण प्रणालीमा उत्पन्न समस्या तत्काल समाधान गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

मन्त्री पुनले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालासहित आधा दर्जन बढी उपकार्यकारी निर्देशकहरुलाई बिहीबार मन्त्रालयमा बोलाएर समस्या तत्काल सम्बोधन गर्न निर्देशन दिएका हुन् ।

मन्त्री पुनले निमित्त कार्यकारी निर्देशक कोइरालालाई पूर्ण अधिकार प्रयोग गरी काम गर्न र ठूलै समस्या आए तत्काल आफूलाई जानकारी दिन पनि समेत निर्देशन दिए ।

‘जनता हाम्रा ग्राहक हुन्, ग्राहकका गुनासा तत्काल सम्बोधन गर्नुस्’, मन्त्री पुनले भन्ने ‘नियमित विद्युत सेवा पाइरहेका जनताले सेवा अनियमित हुँदा गरेको गु्नासालाई नकारात्मक रुपमा नलिऔं, नियमित विद्युत पाउनु जनताको अधिकार हो भन्ने ख्याल गरेर काम गरौं, छिटोभन्दा छिटो गुनासाहरुको सम्बोधन गरौं ।’

मन्त्री पुनले हाल प्राधिकरण कार्यकारी निर्देशकविहीन रहेको विषयसँग जोडेर केही मानिसले सरकार, मन्त्रालय र प्राधिकरणको नियतमाथि प्रश्न उठाइरहेको भन्दै ती प्रश्नको व्यवहारबाटै जवाफ दिनुपर्नेमा जोड दिए ।

मन्त्री पुनले प्राधिकरणको कार्यकारी निर्देशक आउने/जाने प्रक्रिया नियमित भएको स्पष्ट गर्दै प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशकसँगै बसेर राम्रो काम गरेको टिममाथि नै प्रश्न उठाएकाले ती प्रश्नका जवाफ कामबाटै दिन आग्रह गरे ।

मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नियमित विद्युत पाइरहेका जनता समस्यामा पर्दा शंकाको आँखाले हेर्नु स्वाभाविक भएको बताए ।

उनले प्राधिकरणका समस्या समाधान गरी जनतालाई नियमित विद्युत उपलब्ध गराउने काममा मन्त्रालय सधैं गम्भीर रहेको स्पष्ट पारे ।

प्राधिकरणका निमित्त कार्यकारी निर्देशक कोइरालाले खराब मौसमका कारण समस्या आएको भन्दै मौसममा सुधार आएसँगै धेरै हदसम्म समस्या आफैं समाधान भएर जाने जानकारी दिए ।


पुष्प दुलाल