लोडसेडिङको शैलीमा बुधबार राति राजधानीका दर्जन बढी स्थानमा किन काटियो बिजुली ?



काठमाडौं । बुधबार साँझ काठमाडौं उपत्यकाका झण्डै एक दर्जन स्थानमा फरक फरक समयमा विद्युत् काटियो । रातको समयमा एकाएक विद्युत् काटिदा उपभोक्ताले हैरानी महसुस गरे । धेरैले ठाने पुनः लोडसेडिङ शुरु भएछ ।

काठमाडौंको बालाजु क्षेत्रमा त राती ९ बजेको समयमा ३ पटक कत्ती काटियो । यस्तै समस्या ललितपुरको इमाडोल, पाटलगायतका क्षेत्रमा समेत देखा पर्यो । बुढानिकण्ठ, कोटेश्वर, बानेश्वर र बागबजार क्षेत्रमा समेत विद्युत् काटियो ।

विद्युत् नपुगेर विद्युत् काटिएको होइन भन्दै आएको नेपाल विद्युत् प्राधिकरणलाई नै जिस्क्याउने गरी लगातार विद्युत् काटिन थालेपछि उपभोक्ताले ठाने कुलमानले छाडेपछि प्राधिकरण पूरानै अवस्थामा फर्कियो ।

मंगलबारदेखि राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा लगातार विद्युत् काटिन थालेको छ ।

यस्तै चितवन, दाङ, नेपालगन्ज, झापा, विराटनगरलगायतका क्षेत्रमा समेत अनियमित तवरले विद्युत् काटिइरहेको छ । न त प्राधिकरणले सही सूचना दिन सकेको छ, न त उपभोक्ताले यसो भयो भनेर जानकारी नै लिन पाएका छन् ।

विगतमा नो लाइटमा फोन गर्ना साथ उठ्ने गरेको फोन समेत उठन छाडेको छ । एकै पटक दर्जन बढी स्थानमा किन विद्युत् काटियो भनेर प्रष्ट पार्नुपर्ने प्राधिकरण पनि करिब करिब चुपाचापको अवस्था छ ।

देशका धेरै स्थानमा लगातार विद्युत् काटिन थालेपछि उपभोक्ताको चर्को आक्रोश लगत्तै बुधबार साँझ प्राधिकरणका तर्फबाट एक बेनामे सूचना सार्वजनिक गरिएको थियो ।

सूचनामा मौसमको प्रतिकूलताका कारणले एकाध स्थानमा विद्युत् काटिएको भएपनि अन्य कुनै कारण नरहेको प्रष्ट्याउने कोशिस गरिएको थियो ।

गत भदौ २९ गतेदेखि कार्यकाल सकिएर घरमा बसेका कुलमान घिसिङ नहुँदा प्राधिकरणको संरचनामा के कति फरक पर्दो रहेछ भन्दै उपभोक्ताले आक्रोश समेत व्यक्त गर्न थालेको छन् ।

प्राधिकरणका अनुसार कुलमानले प्राधिकरणका महत्वपूर्ण वितरण केन्द्र तथा ग्रीडका पदाधिकारीलाई हरेक घण्टा पछिल्लो अवस्था के छ ? माग के कति छ ? आपूर्ति कसरी भइरहेको छ ? समस्या के छ भनेर चासो लिइरहन्थे ।

उनी आफै पनि समस्या भएको स्थानमा आफै खट्थे । कार्यकारी निर्देशक नै फिल्डमा आएपछि अन्य प्राविधिक कर्मचारीले पनि मन लगाएर काम गर्थे । पछिल्लो दिनमा यो कार्यप्रणाली पूर्ण रुपमा विथोलिएको छ ।

प्राधिकरणको नेतृत्व निमित्तको भरमा चलीरहेको छ । सोही कारण उपभोक्ताको घरमा बत्ती निभ्दा समेत चासो लिएर समाधान गरिदिने व्यक्तिको अभाव देखिएको छ ।

प्राधिकरणले भने लोडसेडिङ इतिहास भइसक्यो भनीरहँदा अकारण काटिने विजुलीका कारण उपभोक्ता थप हैरान भएका छन् ।

पछिल्ला दिनमा राजधानी काठमाडौंलगायतका स्थानमा अनावश्यक रुपमा विद्युत् लाइन काटिन थालेको छ ।

मौसममा खराबी आएका कारण कहिले काही सामान्य रुपमा विद्युत् काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तर यो कुरा मान्न उपभोक्ता तयार छैनन् ।

प्राधिकरणको नेतृत्व निमित्तको भरमा चलीरहेको बेला राजधानी काठमाडौंलगायतका स्थानमा अनियमित तवरले विद्युत् काटिएको छ । विद्युत् किन काटियो भन्ने बारेमा प्राधिकरणका तर्फबाट कुनै पनि स्पष्ट जानकारी दिइएको छैन ।

प्राधिकरणका प्रवक्ता रहेका प्रवबअधिकारीको नाम प्राधिकरणको बेवसाइटबाट हटाइएको छ ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल रहँदासम्म प्रवक्ता रहेका अधिकारी उनी हटेसँगै बेवसाइटबाट हटाइएको छ । त्यसका बारेमा प्राधिकरणले कुनै जानकारी दिइएको छैन ।

एकातिर प्राधिकरणको नेतृत्व निमित्तको भरमा चलेको छ । लेखा शाखाका प्रमुख रहेका लेखनाथ कोइरालालाई ऊर्जा मन्त्रालयले निमित्तको जिम्मेवारी दिएको छ ।

एकातिर प्राधिकरणका नेतृत्वको अभाव अर्को तर्फ कुलमान नभएका कारण अनियमित रुपमा विद्युत् काटिन थालेको असंख्य गुनासा आउन थालेका छन् । मंगलबार राती पनि काठमाडौंको महाराजगन्ज वितरण केन्द्र अन्तर्गत धापासी फिडरमा समस्या आयो ।

जानकारहरुका अनुसार मंगलबार राती १ बजे देखि सो भूमिगत प्रसारण लाइनमा समस्या आएकाले सो क्षेत्रमा विद्युत् लाइन काटियो ।

यस्तै केही दिन पहिले सडक विस्तारका क्रममा बिना जानकारी सडक विस्तार गरिदा ललितपुर क्षेत्रमा विद्युत् काटियो ।

प्राधिकरणको स्थानीय वितरण केन्द्रले स्थानीयबासीलाई कुनै जानकारी नै नदिई लाइन काटेका कारण ललितपुरमा समस्या आएको उपभोक्ताको गुनासो छ ।

चौतर्फी दबाव बढेपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले औपाचारिक रुपमा नै प्रेस नोट जारी गरेर कही कतै पनि बत्ती नकाटिएको स्पष्टिकरण दिन बाध्य भयो ।

पछिल्ला दिनमा प्राधिकरणको प्रणाली उल्लेख्य मात्रामा विद्युत् उपलब्ध भएपनि अकारण विद्युत् काटिन थालेको छ । मौसमका हिसाबले कहिले काही समस्या आएपनि निरन्तर समस्या आउन थालेकाले उपभोक्ताले कुलमानको मिस गर्न गर्न थालेका छन् ।

प्राधिकरणको भार प्रेषण केन्द्रले समेत अनियमित तवरले विद्युत् काटिनुको कारणका बारेमा बताउन चाहेको छैन ।

पछिल्ला दिनमा प्राधिकरणको नो लाइटमा दिइएका नम्बरमा समेत फोन उठन छाडेको छ । पहिले उपभोक्ताले फोन गर्दा नमस्कार के, सेवा गरौ भन्ने कर्मचारीले कि त फोन नउठाउने, उठाइहाले पनि झर्कने समेत गर्न थालेको गुनासो आउन थालेको छ ।

प्राधिकरणको निमित्त नेतृत्वले प्राविधिक कारणले यदा कदा स्थानमा विद्युत् काटिएको भएपनि अन्य कुनै कारणले विद्युत् नकाटिएको जनाएको छ ।


पुष्प दुलाल