वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । सर्वोच्च अदालतले वामदेव गौतमलाई सांसदका रुपमा थप जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले राष्ट्रियसभामा सांसदका रुपमा मनोनित भएका गौतमलाई थप जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले जारी गरेको आदेशमा भनिएको छ, ‘सार्वजनिक सरोकारको प्रस्तुत निवेदनमा नेपालको संविधानले अंगिकार गरेको बहुदलीय लोकतान्त्रिक शासन व्यवस्थाको परिप्रेक्षमा यी समस्त प्रावधानहरुको कसरी प्रयोग हुनुपर्ने हो, के गर्दा संवैधानिक रुपमा स्थीर व्यवस्था कायम हुन सक्छ भन्ने विषयमा ‘गम्भीर र संवैधानिक व्याख्या’को प्रश्न उत्पन्न हुन आएको देखिन्छ ।’

‘विषयवस्तुको गाम्भीर्य एवम् संवैधानिक महत्वलाई दृष्टिगत गर्दै प्रस्तुत विवादमा अन्तरिम आदेश हुने वा नहुने विषयको टुंगो नलागेसम्म सो विषयलाई यथास्थितीमा राख्नु आवश्यक देखिँदा विपक्षीको हकमा थप संवैधानिक जिम्मेवारी दिन, लिने कार्य नगर्न नगराउन भनि सर्वोच्च अदालत नियमावली ७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीका नाममा यो अन्तरिम आदेश जारी गरिएको छ,’ सर्वोच्चले जारी गरेको आदेशमा भनिएको छ ।


क्लिकमान्डु