विद्युत् प्राधिकरणले भन्यो- लोडसेडिङ हुने हल्ला निराधार,कुनै हालतमा गरिदैन



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पछिल्ला दिनमा लोडसेडिङ पुनः शुरु हुन लागेको भन्ने हल्लामा कुनै सत्यता नभएको जनाएको छ ।

पछिल्ला दिनमा राजधानी काठमाडौँ लगायतका स्थानमा पुनः लोडसेडिङ हुन लागेको, अकारण विद्युत् काटिएपछि उपभोक्ताले आपत्ति जनाएपछि प्राधिकरणले बुधबार एक विज्ञप्ति मार्फत त्यस्तो सम्भावना नरहेको जनाएको हो ।

प्राधिकरणले मौसमको प्रतिकूलताका बाहेक कुनै पनि स्थानमा अकारण विद्युत् नकाटिएको भन्दै समस्या देखिएको स्थानमा तत्काल मर्मत सम्भार गरिएको समेत स्पष्ट पारेको छ ।

प्राधिकरणले प्रशारण एवम् वितरण लाईनको सञ्चालन तथा विद्युत आपूर्तिको निरन्तरता, विद्युत महशुल र भुक्तानी सम्वन्धमा उपभोक्ताले देखाउनु भएको चासो र चिन्ताप्रति असाध्यै सजग रहेको र कुनै समस्या आउन नदिने बताएको छ ।

प्राधिकरणले विद्युत्को प्रशारण तथा वितरण संरचना जमिन माथि (ओभर हेड)बाट गएकोले प्रतिकुल मौसमका कारण कुनै कुनै स्थानमा विद्युतीय प्रणालीमा समस्या आउन सक्ने भन्दै त्यसलाई लोडसेडिङ भएको अर्थमा नबुझिदिन समेत आग्रह गरेको छ ।

प्राधिकरणले नियमित रुपमा गर्नु पर्ने मर्मत संभार तथा प्रणाली सुधारको कार्य गर्नु पर्दा विद्युत आपूर्ति बिच्छेद गर्नु पर्ने भएकोले यस्तो अवस्थामा विद्युत आपूर्तिमा समस्या आउने जानकारी दिएको छ ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि सकएिपछि राजधानी काठमाडौंलगायतका देशका विभिन्न स्थानमा लगातार विद्युत् काटिनथालेको छ ।
सोही समस्याका कारण उपभोक्ताले समस्या भोग्दै आएका छन् ।

उसले समस्याको निराकरण तथा सुधार गर्दै नियमित विद्युत आपूर्ति गर्न प्राधिकरण प्रतिवद्ध रहेको स्पष्ट पारेको छ ।

प्रेस नोटमा यदाकदा विद्युत आपूर्तिमा आउने अवरोधलाई जोडी अव विद्युत्भार कटौती हुन थाल्यो भन्ने जस्ता अफवाह पनि सुनिने गरेकोले त्यसमा कुनै सत्यता नभएको, त्यस्तो अवस्था नरहेको बताएको छ ।


पुष्प दुलाल