भारतको एचडिएफसी बैंकबाट नेपालका बैंकहरुले सिक्नुपर्ने पाठः कर्जा लगानी गर्दा गलत दबाव नदिनुस्



काठमाडौं । पछिल्ला दिनमा संसारभर नै बैंक तथा वित्तीय संस्थाले घर तथा सवारी साधन कर्जालाई आफ्नो योजनाको उच्च प्राथमिकतामा राखेका छन् ।

सोही अनुसार कर्जा प्रवाह समेत गर्दै आएका छन् । उनीहरुले आफ्नो व्यवसायको ठूलो हिस्सासमेत सोही क्षेत्रमा लगाएका छन् । अन्य क्षेत्रको तुलनामा जोखिम पनि कम हुने भएकाले र तथा सवारी साधन कर्जामा बैंकहरुको ध्यान जानू स्वभाविक पनि हो ।

बैंकहरुले विभिन्न प्रकारका स्किम ल्याएर ग्राहक तान्ने प्रयाससमेत गरिरहेका छन् । बैंक तथा वित्तीय संस्था भनेका विश्वासमा चल्ने संस्थाहुन् । सामान्य रुपमा मात्रै विश्वास गुमेको खण्डमा त्यसलाई फर्काउन लामो समय लाग्नसक्छ ।

बैंक तथा वित्तीय संस्थामा आम सर्वसाधारणको विश्वास जोडिएको हुन्छ । एउटा गलत घटनाका कारण वर्षौं लगाएर कमाएको विश्वास निमेषभरमा नै सकिन सक्छ ।

त्यसकारण कुनै पनि कारोबार गर्दा पारदर्शी तरिकाले अनावश्यक दबाव नदिइकनै गर्नुपर्ने हुन्छ ।

नेपालमा पनि बैंकहरुले ऋणीलाई गलत दबाव दिने गरेको भन्दै बेलाबेलामा गुनासोहरु आउने गरेका छन् । यस्तो दबावले भविष्यमा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।

भारतको एक बैंकले ग्राहकलाई अनावश्यक दबाव दिएका कारण उसले कमाएको ग्राहकको विश्वास मात्रै गुमाएन । बैंकका लगानीकर्ताको ठूलो परिमाणमा पुँजी पनि गुमाइदियो ।

यतिबेला एचडीएफसी बैंकको सेयरमूल्य ह्वात्तै घटेको छ । त्यतिमात्रै होइन, उक्त बैंक कानूनी झमेलमा फस्ने समेत सम्भावना बढेर गएको छ । नेपालका बैंक तथा वित्तीय संस्थाले समेत यसबाट राम्रै पाठ सिक्न सक्छन् ।

विभिन्न प्रडक्ट तथा कर्जाका स्किम नै कुनै बैंकका लागि भने भारी पर्न सक्छ उदाहरण हो यो घटना ।

भारतको एचडिएफसी बैंकले आफ्ना ग्राहकलाई अनावश्यक रुपमा अर्को कुनै कम्पनीको सामान खरिदमा जबरजस्ती गरेको आरोप लागेको छ । त्यस सम्बन्धमा एचडिएफसी बैंकविरुद्ध अमेरिकाको एउटा अदालतमा मुद्दासमेत दर्ता भएको छ ।

अमेरिकामा दर्ता भएको सो मुद्दाका कारण बैंकका एमडी आदित्य पूरी र नयाँ आउन लागेका एमडीको विरुद्धमा समेत कारवाहीको माग गरिएको छ ।
तर बैंकले भने उक्त आरोपको खारेज गर्दै प्रमाणित गरेर देखाउन चुनौती दिएको छ ।

अमेरिकाको रोजेन ल फर्मले उक्त मुद्दा दर्ता गराएको हो । मुद्दामा भनिएको छ अटो लोन लिने ग्राहकलाई बैंकले भेहिकल ट्रयाकिङ उपकरण खरिदका लागि वाध्य पारेको र खरिदका लागि दबाव दिएको पाइएको छ ।

आफूले गरेको लगानीको नोक्सान भएको र त्यसको भरताल गर्न माग गर्दै मुद्दा दायर गरिएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । सो मुद्दाका कारण एचडिएफसी बैंकलाई भने समस्या पर्नसक्छ ।

बैंकका एमडी आदित्य पूरी तथा नयाँ एमडी सशिधर जगदीशन, कम्पनी सचिव सन्तोष हलदनकरको विरुद्ध मुद्दा दर्ता गरिएको छ ।

उजुरीमा गलत विवरण दिएर ग्राहकको लगानीमाथि खेलबाड गरेको उल्लेख छ । बैंकले नोक्सानीको भरपाई गर्नुपर्ने उजुरीमा बताइएको छ ।

उजुरी अनुसार बैंकले ३१ जुलाई २०१९ देखि १० अगस्ट २०२० सम्म बैंकका सेक्योरिटीज खरिद गर्नेमाथि अनावश्यक शुल्क लिएको र जबरजस्ती आफूले भनेको कम्पनी ट्र्याकिङ प्रणाली खरिद गर्न भनेको थियो ।

यसभन्दा पहिले १३ जुलाईमा एचडिएफसी बैंकले भेइकल फानान्सिङ विभागका विजनेश हेड अशोक खन्नाले गडबडी गरेको भन्दै कारवाही गरेको जनाएको थियो ।

उनले सो बैंकबाट सवारी साधन खरिद गर्न ऋण लिने ग्राहकलाई भेइकल ट्र्याकिङ डिभाइस खरिद गर्न दबाव मात्रै दिएनन्, सो प्रणाली खरिद नगरे कर्जासमेत नदिने भन्दै धम्की दिएका थिए ।

सो खबर सार्वजनिक भएपछि अमेरिकाको डिजोजिटरी सेयरको मूल्यमा २.८३ प्रतिशतले ओरालो लागेर ४७.०३ अमेरिकी डलर प्रतिसेयरमा पुगेको थियो ।

ल फर्मले बैंकले प्रर्याप्त मात्रामा विवरण तथा जानकारी ग्राहकलाई नदिएको तथा भेइकल फाइनान्स कम्पनीको कामकाजमा गडबडी गरेको पाइएको छ ।

गडबडी गरिएकै कारण बैंकको कमाई समेत ओरालो लागेको छ । त्यसका कारण बैंकको वित्तीय तथा नैतिक विषयमा समेत प्श्न खडा भएको छ ।

बैंकले छिटो नाफा कमाउने ध्येयका साथ गलत तरिकाले कारोबार गरेको पाइएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको कमाउने मुनाफामा समेत नकारात्मक असर परेको छ ।

आरोपमा बैंकका कारण के कति मात्रामा असर परेको हो र के कति मात्रामा क्षतिपूर्ति दिनुपर्ने हो त्यसका बारेमा केही खुलाइएको छैन ।

बैंकले गलत व्यवहार गरेका कारण हजारौं लगानीकर्ता र सेवाग्राहीको विश्वास समेत गुमाएको छ । बैंकले भने उक्त आरोपको प्रतिरक्षामा सकेसम्म खरो तरिकाले उत्रने दावी गरेको छ ।


पुष्प दुलाल