बिनाकारण किन काटिदैैछ राजधानी काठमाडौंमा विजुली, कुलमानलाई मिस गर्दै उपभोक्ता



काठमाडौं । पछिल्ला दिनमा राजधानी काठमाडौंलगायतका स्थानमा अनावश्यक रुपमा विद्युत् लाइन काटिन थालेको छ ।

मौसममा खराबी आएका कारण कहिले काही सामान्य रुपमा विद्युत् काटिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

गत भदौ २९ गतेदेखि तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल पूरा भएपछि यतिबेला प्राधिकरण निमित्तको भरमा चलीरहेको छ ।

प्राधिरकणको नेतृत्व निमित्तको भरमा चलीरहेको बेला राजधानी काठमाडौंलगायतका स्थानमा अनियमित तवरले विद्युत् काटिएको छ । विद्युत् किन काटियो भन्ने बारेमा प्राधिकरणका तर्फबाट कुनै पनि स्पष्ट जानकारी दिइएको छैन ।

प्राधिकरणका प्रवक्ता रहेका प्रवबलराज अधिकारीको नाम प्राधिकरणको बेवसाइटबाट हटाइएको छ ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल रहँदासम्म प्रवक्ता रहेका अधिकारी उनी हटेसँगै बेवसाइटबाट हटाइएको छ । त्यसका बारेमा प्राधिकरणले कुनै जानकारी दिइएको छैन । प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः घिसिङलाई फिर्ता ल्याउन प्राधिकरणको आधिकारिक कर्मचारी यूनियनले पहल जारी राखेको छ ।

नेकपा निकटको कर्मचारी संगठनले नेकपाका शीर्ष नेतृत्वलाई भेटेर प्राधिकरणमा अझै धेरै काम गर्न बाँकी रहेको र त्यसका लागि सबै विषय बुझेको घिसिङ जस्तै कार्यकारी निर्देशक जरुरी रहेको बताएको छ ।

उनीहरुले एक पटकका लागि घिसिङलाई नियुक्ति दिन उनीहरुले माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा घिसिङको पुनः नियुक्तिका लागि दर्ता भएको भनिएको प्रस्ताव माथि हालसम्म कुनै निर्णय भएको छैन ।

घिसिङको कार्यकाल सकिएपछि मात्रै सोमबारसम्म आइपुग्दा २ वटा मन्त्रिपरिषद्को बैठक बसीसकेको छ । तर घिसिङको बारेमा कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले कानूनी विषयमा बुझेर मात्रै निर्णय गरौला भनेर पुनः नियुक्तिको प्रस्ताव रोकिएको तालुकदार ऊर्जा , जलस्रोत तथा सिँचाइ मन्त्रालयले बताउने गरेको छ ।

ऊर्जा मन्त्री वर्षमान पुनले त सार्वजनकि रुपमा नै घिसिङलाई पुनः नियुक्ति नगर्ने भनेर आफूले कहिल्यै नभनेको र प्रस्ताव विचाराधिन रहेको बताएका छन् । उनले प्रधानमन्त्रीले कानूनी राय बुझेर निर्णय गर्ने भनेकाले अहिल्यै कोही कसैलाई आरोपित नगर्न आग्रह गरेका छन् ।

एकातिर प्राधिकरणको नेतृत्व निमित्तको भरमा चलेको छ । लेखा शाखाका प्रमुख रहेका लेखनाथ कोइरालालाई ऊर्जा मन्त्रालयले निमित्तको जिम्मेवारी दिएको छ ।

उनी भन्दा वरिष्ठ तर सहायक कम्पनीमा रहेका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त दिइने अनुमान विपरित कोइरालालाई ऊर्जा मन्त्रालयले निमित्तको जिम्मेवारी दिएको छ ।

एकातिर प्राधिकरणका नेतृत्वको अभाव अर्को तर्फ कुलमान नभएका कारण अनियमित रुपमा विद्युत् काटिन थालेको असंख्य गुनासा आउन थालेका छन् । मंगलबार राती पनि काठमाडौंको महाराजगन्ज वितरण केन्द्र अन्तर्गत धापासी फिडरमा समस्या आयो ।

जानकारहरुका अनुसार मंगलबार राती १ बजे देखि सो भूमिगत प्रसारण लाइनमा समस्या आएकाले सो क्षेत्रमा विद्युत् लाइन काटिएको छ ।

सोे वितरण केन्द्रका प्राविधीकहरुले अविरल झरीका बाबजुद पनि रातभरी नै प्रयास गरी आधा लाईन सञ्चालन भइसकेको प्राधिकरणका कर्मचारी सिताराम थापाले जानकारी दिए ।

प्राधिकरणका अनुसार ग्राण्डी अस्पताल नजिकै फल्ट पत्ता लागेको र विष्णु भण्डारीलगायत प्राविधीकले समस्या आएको स्थानमा मर्मत गरेको र हाल विद्युत् पुनः सञ्चालनमा आएको छ ।

यस्तै केही दिन पहिले सडक विस्तारका क्रममा बिना जानकारी सडक विस्तार गरिदा ललितपुर क्षेत्रमा विद्युत् काटियो ।

प्राधिकरणको स्थानीय वितरण केन्द्रले स्थानीयबासीलाई कुनै जानकारी नै नदिई लाइन काटेका कारण ललितपुरमा समस्या आयो । स्थानीयबासीले ठाने कुलमान प्राधिकरणबाट हटे अब पूरानै दिन फर्कियो ।

किनकी ४ वर्ष पहिले कै जस्तो अवस्थामा प्राधिकरण आयो र अब धमाधम लाइन काटिन थाल्यो ।

चौतर्फी दबाव बढेपछि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले औपाचारिक रुपमा नै प्रेस नोट जारी गरेर कही कतै पनि बत्ती नकाटिएको स्पष्टिकरण दिन बाध्य भयो ।

मन्त्रालयले गत आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ केभी प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको जनाएको छ ।

मन्त्रालयले त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भान भएकाले स्पष्टताका लागि यो जानकारी दिइएको बताएको थियो ।

मन्त्रालयले यदि कतै पूर्वजानकारी विना विद्युत् सेवा नियमित नभएको अवस्थामा माननीय ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री श्री वर्षमान पुनको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्नुहुन अनुरोध गरेको थियो ।

मन्त्री पुनको सचिवालयले कही कतै समस्या आएको खण्डमा सचिवालयको हटलाइन नम्बर-११५१ मा वा २४ सै घण्टा ९८५११०९८३५ मा फोन गर्न सकिने जनाएको छ ।

पछिल्ला दिनमा प्राधिकरणको प्रणाली उल्लेख्य मात्रामा विद्युत् उपलब्ध भएपनि अकारण विद्युत् काटिन थालेको छ । मौसमका हिसाबले कहिले काही समस्या आएपनि निरन्तर समस्या आउन थालेकाले उपभोक्ताले कुलमानको मिस गर्न गर्न थालेका छन् ।

प्राधिकरणको भार प्रेषण केन्द्रले समेत अनियमित तवरले विद्युत् काटिनुको कारणका बारेमा बताउन चाहेको छैन । त्यसो त कार्यकारी निर्देशकको अवकाशको दिन नजिकिन थालेपछि मातहतका कार्यालय प्रमुख तथा प्राविधिकले नटेरेको हुन सक्ने अनुमान गरिएको छ ।

पछिल्ला दिनमा प्राधिकरणको नो लाइटमा दिइएका नम्बरमा समेत फोन उठन छाडेको छ । पहिले उपभोक्ताले फोन गर्दा नमस्कार के, सेवा गरौ भन्ने कर्मचारीले कि त फोन नउठाउने, उठाइहाले पनि झर्कने समेत गर्न थालेको गुनासो आउन थालेको छ ।

प्राधिकरणको निमित्त नेतृत्वले प्राविधिक कारणले यदा कदा स्थानमा विद्युत् काटिएको भएपनि अन्य कुनै कारणले विद्युत् नकाटिएको जनाएको छ ।


पुष्प दुलाल