भोलिदेखि आन्तरिक हवाई उडान शुरु, अधिकांश गन्तव्यको भाडा बसको भन्दा सस्तो



काठमाडौं । लामो समयदेखि बन्द भएको आन्तरिक हवाई उडान भोलि अर्थात् असोज ५ गतेदेखि शुरु हुँदैछ । यसका लागि हवाई कम्पनीहरुको सबैखाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तयारी अवस्थामा छन् ।

लामो समयपछि राहतको श्वास फेर्न पाएका हवाई कम्पनीहरुले यात्रुका लागि पनि भाडादर सस्तो तोकेका छन् । यसअघि सरकारले ५० प्रतिशत सिट क्षमतामा सञ्चालन गर्ने भने पनि हवाई कम्पनीहरुको मागका आधारमा शतप्रतिशत सिट क्षमतामा सञ्चालन हुन पाउने भएका छन् । जसका लागि उनीहरुले भाडा बढाउन भने पाउने छैनन् ।

भाडा बढाउन नपाउने भनिए पनि हवाई कम्पनीहरुले काठमाडौंदेखि बाहिरिने अधिकांश गन्तव्यको भाडा भने सस्तो बनाएका छन् । कैयन गन्तव्यमा सुविधा सम्पन्न बसहरुको भन्दा पनि भाडादर कम तोकिएको छ ।

जस अन्तर्गत असोज ५ गतेको भाडा हेर्ने हो भने काठमाडौं–पोखराको भाडा २ हजार रुपैयाँ तोकिएको छ । यो काठमाडौं–पोखरा रुटमा जाने सुविधा सम्पन्न गाडीको भन्दा ५ सय रुपैयाँ सस्तो हो ।

हाल सार्वजनिक सवारी साधनले ५० प्रतिशत मात्रै यात्रुको सिट क्षमतामा सञ्चालन गर्नुपर्ने नियम छ । तर उनीहरुले ५० प्रतिशत भाडा बढी लिन पाउँछन् । तर हवाई उडानको हकमा भने त्यो नियम छैन ।

विमान कम्पनीहरुले काठमाडौं–बिराटनगरका लागि ३३ सय, भैरहवाका लागि २६ सय, जनकपुरका लागि २ हजार, नेपालगञ्जका लागि ५ हजार १०५, भद्रपुरका लागि ३ हजार न्यूनतम भाडा तोकेका छन् ।


क्लिकमान्डु