भारतबाट प्याज नल्याउँदा नेपालमा मूल्य बढ्नै पर्ने हो ?



भारतले सबै प्रकारका प्याजको निर्यातमा रोक लगाएसँगै त्यसको असर नेपालको बजारमा परेको छ । प्रतिकेजी ७० रुपैयाँमा बिक्री भइरहेको प्याज भारतले निर्यातमा रोक लगाएपछि हाल १५० रुपैयाँसम्म पुगेको छ ।

अझ दशैं नजिकिँदै गर्दा बजारमा यसको माग र खपत बढ्ने निश्चित छ । यस्तो अवस्थामा के हामीहरु भारतकै प्याजमा निर्भर हुनुपर्ने अवस्था हो त ?

वरिष्ठ बागवानी विकास अधिकृत भरतबहादुर आचार्य तथ्याङ्कलाई आधार मान्दा नेपालमा उत्पादन हुने प्याजले खपत धान्न नसक्ने भए पनि आयात रोकिदैमा मूल्यमा तीव्र उतारचढाव आउने स्थिति भने नरहेको बताउँछन् ।

उनका अनुसार नेपालमा करिब ४ लाख मेट्रिकटन प्याज वार्षिकरुपमा खपत हुन्छ । जसमध्ये नेपालमा उत्पादन हुने ३ लाख मेट्रिकटन छ । यस आधारमा हेर्दा वार्षिक १ लाख मेट्रिकटन विदेशबाट प्याज ल्याउनु पर्ने बाध्यता छ ।

‘अघिल्लो वर्षको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७६/७७ मा करिब ३ लाख मेट्रिकटन प्याज उत्पादन भएको छ, सोही वर्ष १ लाख ६ हजार मेट्रिकटन आयात भएको छ,’ उनले भने ।

उनका अनुसार प्याज उपभोक्तासम्म पुग्दा करिब १० देखि १२ प्रतिशतसम्म नोक्सान हुन्छ । त्यो १०÷१२ प्रतिशतलाई कटाउने हो भने गत आर्थिक वर्षको तथ्याङ्कलाई विष्लेषणगर्दा ३ लाख ५० हजार मेट्रिकटन वास्तविक खपत भएको देखिन्छ ।

आयातको सन्दर्भमा गत वर्ष पनि भारतले निर्यात रोक लगाउँदा केही खपत घटेको वरिष्ठ बागवानी विकास अधिकृत आचार्यको भनाइ छ । तर सहज अवस्थामा बढीमा पनि साढे ४ लाख मेट्रिकटन प्याज खपत हुन्छ । जुन नेपालको उत्पादनले धान्न नसक्ने स्थिति भएपनि मूल्यमा अत्यधिक वृद्धि हुने स्थिति नरहेको उनको तर्क छ ।

नेपालमा खासगरी मौसमी खेतिको रुपमा मंसिर÷पुषमा रोपेर बैशाखमा प्याज उत्पादन हुन्छ । तर साउनमा रोपेर मंसिरमा उत्पादन लिन सक्ने बेमौसमी प्याज उत्पादन पनि हुन्छ ।

भारतमा पनि दुई सिजनमा मात्रै उत्पादन गर्ने गरिन्छ । तर पनि भारतमा कम उत्पादन हुँदा नेपालको बजार प्रभावित भइहाल्छ । किनभने नेपालको खपतमा नेपालको उत्पादनले भ्याउँदैन र भारतबाट आयात गर्नैपर्ने बाध्यता छ ।

नेपालमा बेमौसमी प्याजको उत्पादन खासै नभएकाले पनि अहिलेको समयमा प्याजको माग भन्दा आपूर्ति कम देखिने गरेको छ । तर पछिल्लो ४÷५ वर्षको तथ्याङ्क हेर्ने हो भने नेपालको उत्पादन प्रत्येक वर्ष बढ्दै गएको आचार्यले बताए ।

‘हाम्रो उत्पादनले नपुग्ने हो तर उत्पादन नै नभएको भने होइन,’ उनले भने, ‘ हाम्रोमा वर्षमा २ पटक प्याज उत्पादन हुन्छ,’ उनले भने ।

उनका अनुसार नेपालमा प्याज उत्पादन हुने मुख्य सिजन बैशाख हो । भारतमा पनि त्यहि हो । अर्को साउन तिर रोपेर कार्तिक मंसिरमा हार्भेष्ट हुने हो । कार्तिक मंसिर तिर जुन प्याज हार्भेष्ट गर्छौं त्यो चाहिं बेमौसमी प्याज पनि भनिन्छ ।

यो बेमौसमि प्याजको सन्दर्भमा हाम्रो खासै उत्पादन छैन । भर्खर शुरुवातको क्रममा मात्रै छ । प्याजको व्यवसायीक रुपमा अगाडि बढ्ने सन्दर्भलाई यसरी हेर्दाखेरी चारपाँच वर्षको तथ्याङ्कलाई हेर्ने हो भने उत्पादन केही मात्रामा बढ्दै गएको अवस्था छ ।’

नेपालमा प्याजको उत्पादन बढाउन जमिनको क्षृत्रफल र उत्पादकत्व क्षमता बढाउनुपर्ने उनको भनाइ छ ।

नेपालमा अहिले तराई र मध्यपहाडी क्षेत्रमा गरी कुल २० हजार ९ सय ८ हेक्टर क्षेत्रफलमा प्याज खेति हुँदै आएको छ । सरकारले प्याजको उत्पादन बढाउनका लागि विभिन्न कार्यक्रमहरु समेत लागू गरेको छ ।

आर्थिक वर्ष २०६३/६४ देखि आर्थिक वर्ष २०६९/७० सम्म तराईका जिल्लाहरुमा प्याज मिसन कार्यक्रम सञ्चालन भएको थियो । अहिले पनि १० जिल्लाका १० वटा स्थानीय तहमा सरकारले प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम कर्यान्वयनमा ल्याएको छ ।

‘स्थानीय तहमा नै कार्यक्रम सिधै संघबाट जाने सशर्त अनुदान कार्यक्रम भनेर एक करोड रुपैयाँ बजेटको कार्यक्रम १० वटा जिल्लाको १० वटा स्थानीय तहमा गएको छ । प्याजको व्यवसायीक गाना उत्पादन कार्यक्रम भनेर गएको छ,’ वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले भने ।

नेपालमा उत्पादन बढाउनका लागि बिउको व्यवस्थापन मुख्य चुनौति हो । नेपालमा २० हजार ९ सय ८ हेक्टरलाई करिब २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्नेमा सबै बिउ नेपालमा उत्पादन नहुने भएकाले समस्या भएको बताए ।

नेपालमा खासगरी रेडक्रियल जातको प्याज खेति गरिन्छ । भारतबाट प्याजको बिउ ल्याउन पनि भारतले निर्यातमा रोक लगाएको छ । त्यसैले तराईको जिल्लामा खुला बोर्डरबाट अवैधानिक रुपमा आउने बिउले धानेको आचार्यले बताए ।

‘गुणस्तरीय उन्नत बिउको सन्दर्भमा हामीसँग भएको उत्पादन जुन बिउको परिमाण छ २० हजार ९ सय ८ हेक्टरलाई चाहिने त्यो हामीसँग नपुग्दो छ । किनभने २० हजार ९ सय ८ हेक्टरलाई करिब बिउको परिमाणको हिसाबले हेर्नेहो भने २ हजार ९० क्विन्टल बिउ आवश्यक पर्ने देखिन्छ,’ उनले भने ।

उनका अनुसार नेपालमा १ सय ५० क्विन्टल बिउ उत्पादन छ । विशेष गरेर रेडक्रियल प्याजको जात एकदम पपुलर छ र खानमा पनि स्वादिलो छ । पिरो कम पनि भएको र यसको भण्डारण क्षमता पनि राम्रै छ । यसको बिउको उत्पादन नपुग देखिएको छ र यसले हाम्रो क्षेत्रफलाईपनि भारतबाट खुला बोर्डरबाट आउने बिउले नै पूरा गरेको अवस्था देखिन्छ किनभने भारतबाट बिउ कानुनी रुपमा निर्यात गर्नलाई रोक लगाएकै छ ।

नेपालमा प्याज उत्पादका लागि प्रविधिको प्रयोग पनि कम छ । वरिष्ठ बागवानी विकास अधिकृत आचार्यले सरकारले पनि किसानसम्म प्रविधि पुर्याउन नसकेको बताए ।

त्यस्तै गहुँ सिजनमा प्याजको सिजनल उत्पादन हुने भएकाले किसानहरु गहुँको सट्टा प्याज खेति गर्न नचाहनु पनि अर्को कारण देखिन्छ । त्यस्तै भारतमा उत्पादन बढी हुने र नेपालमा सोही प्याज आयात हुँदा मूल्यमा प्रतिस्पर्धा गर्न नसक्ने भएकाले किसानहरु प्याज खेतिमा आकर्षित हुन नसकेको पनि आचार्यको भनाइ छ ।

‘भारतमा कुनै वर्ष उत्पादन बढी हुने र उत्पादन बढी भए पनि निश्चित रुपमा भारतबाट आयात हुने परिमाण बढ्छ र मूल्यमा हाम्रो उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने अवस्था हुन्छ । त्यस्तो अवस्था भएमा किसानहरुले राम्रो मूल्य नपाउने अवस्था सिर्जना हुने हुँदा प्याजको उत्पादन क्षेत्र विस्तार गर्ने सन्दर्भमा किसानहरु कम आकर्षित भएको पाइन्छ,’ आचार्यले भने ।


क्लिकमान्डु