सिस्टम अडिट गर्न नेप्सेले माग्यो आवेदन, छैन मापदण्ड



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आफ्नो सिस्टमको अडिट गर्ने भएको छ ।

नेप्सेले इन्फरमेसन सिस्टम अडिट गर्नको लागि परामर्शदाताहरुलाई उक्त सूचना जारी गरेको छ ।

नेप्सेका अनुसार सार्वजनिक खरिद नियमावली २२०६४ अनुसार आर्थिक वर्ष २०७५/०७६ को कर चुक्ताको प्रमाणपत्र, मूल्य अभिवृद्धि कर दर्ता, स्थायी लेखा नम्बर, संस्था नविकरणको प्रमाणपत्र आवश्यक पर्ने जनाएको छ ।

उल्लेखित कागजातको प्रतिलिपि तथा इन्फरमेसन सिस्टम अडिट सम्बन्धी कार्य अनुभवका कागजात संलग्न गरी सूची नेप्सेमा दर्ता गर्न आग्रह गरेको छ ।

हरेक वर्ष गर्ने अडिट यो पटक भने टिएमएसमा देखिएको समस्याका कारण छिटै अडिट गर्न लागिएको नेप्सेले जानकारी गराएको दिएको छ ।

‘यो नियमित काम भएपनि टिएमएसमा आएको समस्याको कारण यो कामलाई प्राथमिकतामा राखेर अडिट हुन लागेको हो’ नेप्सेका एक अधिकारीले बताए ।

नेप्सेले आफ्नो सिस्टम अडिट गर्न लागेको भएपनि त्यसका लागि कसरी अडिट गर्ने भन्ने मापदण्ड नहुँदा समस्या देखिएको हो ।

मापदण्ड नभएका कारण के आधारमा, कुन विषयलाई प्राथमिकता राखेर अटिड गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भएको नेप्सेको अधिकारीको भनाइ छ ।

नेप्से स्रोतका अनुसार अडिट गर्दा के कुरालाई हेर्ने, के कुरालाई नहेर्ने भन्ने विषयमा अहिलेसम्म कुनै लिखित मापदण्ड नै छैन ।

‘मापदण्ड बनाउने काम माथिल्लो निकायको हो’ नेप्सेका एक अधिकारीले भने ‘नेप्से आफैले अडिट गर्दा यो हेर्नु, यो नहेर्नु भनेर भन्न मिल्दैन, नेप्सेले मापदण्ड बनाएको खण्डमा त्यहाँ भएका कमजोरी लुक्न सक्छ, त्यसैले यसको मापदण्ड तत्काल आवश्यक छ ।’

मापदण्ड नभएको कारण के आधारमा अडिट गर्ने भन्नेमा नै अन्योलता भएको हो ।

नेप्सेले सिस्टम अडिट गर्नका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारीमा जुटेको छ तर कुन मापदण्डलाई टेकेर सिस्टम अडिट गर्ने भन्नेमा नै अन्योलता भने कायमै छ ।

अडिट गर्दा हार्डवयर, सफ्टवेयरका के–के कुरा हेर्ने, पारिश्रमिक कति लाग्ने भन्ने पनि मापदण्ड समेत बनेको छैन । यता बोर्डले सिस्टम अडिट गर्नका लागि के के हेर्नुपर्ने हो भनेर निर्देशिका बनिसकेको छैन ।


पुष्प दुलाल