औचित्यको आधारमा संविधान संसोधन हुन्छः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।

‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थिरता र स्थायित्वका नाममा संविधान संशोधन नरोकिने बताए ।

व्यवहारिक रुपमा संविधान अपूर्ण रहेको देखिएमा संविधानको संशोधन गर्न सकिन्छ,जनताको आवश्यकता र समयको मागअनुसार परिवर्तनको गतिलाई अगाडी बढाउन पनि संशोधन आवश्यक पर्न सक्ने छ,प्रधानमन्त्री ओलीले भने ।

‘केही केही व्यवहारका क्रममा भोली गएर अपूर्णता पनि देखिएला । जनताको आवश्यकतालाई समयको माग अनुसार परिवर्तनको गतिलाई अगाडी बढाउनका लागि न्याय, समानता वा विकासर्लाइ यथोचित ढंगले परिमार्जन गर्न संविधान संशोधन हुन आवश्यक पर्न सक्छ । त्यस्तो पर्‍यो भने संविधान संशोधन हुन्छ । यो अपरिवर्तनशिल र असंशोधनिय चिज होइन । स्थिरता र स्थायित्वका नाममा अपरिवर्तनशिल विषय होइन ।’ ओलीले थपे ।

संविधान दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले प्रणालीगत, संरचनागत र कानूनी पक्षका हिसाबले पनि जनता र देशको आवश्यकता अनुसार संशोधन गर्न सकिने बताए । उनले आवश्यक देखिएमा संविधान संशोधनका लागि सबै तयार हुनुपर्ने बताए । ‘संविधान संशोधनका लागि हामी सबै खुला दिमाग राखेर बिना बहकाउ तयारी रहनुपर्छ ।’उनले भने ।

पाँचौ संविधान दिवसको अघिल्लो दिन प्रधानमन्त्री ओलीले ६४६ पृष्ठको ‘अ ट्रिटिज अन दि कन्स्टिच्युसन अफ नेपाल, २०१५’ पुस्तक विमोचन गरेका छन् ।


क्लिकमान्डु