नेपाल आइपुग्यो चन्द्रसूर्य झण्डा अंकित रेल, कोरोनाका कारण तत्काल सञ्चालनमा नआउने



काठमाडौं । नेपालमा यस अघि नै सञ्चालनमा आएको र नवः निर्माण गरिएको रेलमार्ग सञ्चालन हुने रेल नेपाल आइपुगेको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार भारतको जयनगरबाट नेपालका लागि हिडेको नेपाली रेल बिहिबार साँझ नै नेपाल भारत सीमा क्षेत्रमा आइपुगेको थियो ।

उक्त रेल जनकपुर ल्याएपछि भारतीय निर्माता कम्पनीले हस्तान्तरण गर्ने जनाएको छ ।

मिश्रका अनुसारका भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै जनकपुर तर्फ सो रेल आइरहेको छ ।

उनका अनुसार २ वटा रेलमा नेपालको झण्डामा अंकित निलो र रातो रंगको संकेतलाई कलात्मक तवरले राखिएको छ ।

रेलको अगाडि नेपाल रेल्वे लेखिएको छ । १ इन्जिन र ४ वटा बोगीसहितको रेल जनकपुर आएपछि आजै नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

विभागका महानिर्देशक मिश्रले रेलको फोटो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

फोटोमा नेपाली रेल आकर्षक देखिएको छ । छिट्टै रेल सञ्चालन गर्ने तयारी गरेको विभागले आवश्यक कर्मचारीका लागि विज्ञापन समेत खुलाएको छ ।

नेपालमा हालसम्म रेल सञ्चालन सम्बन्धी कानून नभएका कारण सञ्चालनमा भने कानूनी समस्या रहेको छ । सरकारले अध्यादेश मार्फ कानून ल्याउने तयारी गरेको छ ।

संघीय संसदमा विचाराधिन नेपाल रेल्वे विधेयकलाई अध्यादेश मार्फत ल्याउने तयारी गरिएको छ । किनकी यतिखेर संघीय संसद बन्द रहेको छ ।

शुक्रबार जनकपुर ल्याएपछि रेल पुनः केही समय पछि भारत नै फर्काइने भएको छ । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेशनसँग ८४ करोड ६५ लाखमा रेल खरिद गरेको हो ।

भारतीय सहयोगमा निर्माण भइरहेको जनकपुर जयनगर खण्डको रेलमार्गमा तत्काल रेल भने सञ्चालनमा नआउने बताइएको छ ।

हाल ३४ किलोमिटर मात्रै रेलमार्ग निर्माण भइसकेको छ । जनकपुरदेखि बर्दीबाससम्मको रेलमार्ग भने निर्माणको क्रममा छ । जनकपुरदेखि कुर्थासम्मको भने रेलमार्ग निर्माण भइसकेको छ ।

उक्त खण्डको कूल लम्बाई भने ४६ किलोमिटर रहेको छ । यस्तै विजलपुरादेखि बर्दीबाससम्मको कूल १७ किलोमिटर भने चालु आवको अन्त्यस्म्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

उक्त रेलमार्ग निर्माणका लागि तत्कालीन राष्ट्रपति डा रामवरण यादवको भारत भ्रमणको क्रममा सहमति भएको हो । यद्यपी उक्त रेलमार्गमा रेल सञ्चालन हुने गरेको थियो । सो भ्रमणका क्रममा नेपाल भारत सीमा क्षेत्रका विभिन्न स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।

सरकारले दावी गरे जस्तो उक्त रेलमार्ग तत्काल निर्माण नभएको नभई पुनः निर्माण भने गरिएको हो । तर रेल चलाउनका लागि प्राविधिक कर्मचारीको भने अभाव रहेको छ ।

रेल्वे कम्पनीले केही दिन पहिले १३९ कम्पनी माग गरेको छ ।
तत्कालका लागि दक्ष जनशक्ति नभएका कारण भारतीय कामदारले नै नेपालको झण्डा अंकित रेल चलाउने भएका छन् ।

चालक, इन्जिनियर तथा संकेत गर्ने कर्मचारी भने तत्कालका लागि भारतीय नै रहने भएका छन् । न्यारो गेजमा २०७१ सालसम्म सञ्चालनमा रहेको रेल बन्द भएपछि सोही रेलमार्गमा ब्रोडगेज रेलमार्ग निर्माण भएको हो ।

कोरोना कारण उक्त रेल तत्कालका लागि भने सञ्चालनमा नआउने भएको छ । हाल नेपाल भारत सीमा क्षेत्रबाट आवत जावत रोकिएको र कोरोनाको संक्रमणको जोखिम कायम रहेका कारण केही समयपछि मात्रै उक्त रेल सञ्चालनमा आउनेछ । तस्बिरः बलराम मिश्र महानिर्देशक रेल विभाग 


पुष्प दुलाल