६ महिनापछि खुल्यो चन्द्रागिरि केवलकार, प्याकेज लिँदा छुट
काठमाडौं । ६ महिनादेखि पूर्णरुपमा बन्द रहेको चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । गत चैत ९ गतेदेखि बन्द रहेको केवलकार आज अर्थात् असोज १ गतेदेखि सञ्चालन गरिएको चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए ।
‘लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकार विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डको परिपालना गरेर आजदेखि सञ्चालनमा ल्याएका छौं,’ महाप्रबन्धक गिरिले क्लिकमाण्डूसँग भने, ‘केवलकारमा ५० प्रतिशतमात्रै यात्रु राखिने छ ।’
यसअघि ८ जनासम्म राखिने गरेको केवलकारको एउटा डब्बामा अब भने ४ जनामात्रै राखिने गिरिले जानकारी दिए ।
‘एउटै परिवारका सदस्य भए ८ जनालाई नै एउटा केवलकारको एउटै डब्बामा राखिने छ’ उनले भने, ‘एउटै परिवारको नभएको अवथामा ४ जनामात्रै राखिने छ ।’
यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, मास्क, स्यानिटाइजर र पञ्जाको अनिवार्य व्यवस्था गरिएको छ ।
केवलकारसँगै चन्द्रागिरि रिसोर्ट पनि सञ्चालन गरिएको छ । केवलकार चड्न जानेहरुले प्याकेज लिएर छुटको उपयोग पनि गर्न सक्नेछन् । केवलकार, ब्रेक फास्ट, लञ्च र स्वीमिङ पुलको प्याकेज करसहित १२ हजार रुपैयाँमा उपलब्ध गराइएको गिरिले जानकारी दिए । सामान्य अवस्थामा उक्त प्याकेजको १५÷१६ हजार रुपैयाँ पर्थ्यो ।
सामान्य समयमा निकै घुईचो हुने चन्द्रागिरी केवलकार ६ महिना पछि खुलेको पहिलो दिन बिहीबार चाप निकै कम छ ।
‘पहिलेके जस्तो पर्यटकको चाप छैन,’ गिरीले भने, ‘तर फाट्टफुट्ट पर्यटकहरु आइरहनु भएको छ ।’