यो अर्थतन्त्र बाँच्ने र तंग्रिने समय हो, त्यसपछि मात्रै दौडन्छ, बेलैमा बिचार गरौंः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोनाका कारण सबै क्षेत्र प्रभावित भए पनि अब व्यापार व्यवसाय सञ्चालन हुनुपर्ने बताएका छन् ।

‘अहिले हामी संकटमा छौं, यस्तो बेलामा बाँच्ने, तंग्रिने समय हो त्यसपछि दौडन समय पनि आउँछ त्यसैले अहिले बाँच्ने र तंग्रिनका लागि काम गरौं,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र पुनरउत्थानको बाटो विषयक अन्तक्रिया कार्यक्रममा उनले विभिन्न देशले सामाजिक सुरक्षामा नभएका मानिसलाई राहत दिने र आर्थिक कृयाकलापमा ध्यान दिएर के गर्दा यो टिक्न सक्छ भन्ने तर्फ काम गरिरहेको समेत बताए ।

उनले कोरोनाले हामी सबैलाई पाठ सिकाएको भन्दै यसलाई अब अवसरका रुपमा लिएर काम गर्नुपर्ने धाराण राखे ।

उनले लकडाउन खोल्दा त्यसको सही सदुपयोग गर्नुपर्नेमा सरकारले त्यो गर्न नसकेको तर्क गरे । अन्य देशले नागरिकको अर्थतन्त्रमा ध्यान दिएको तर नेपालमा त्यो हुन नसकेको उनको आरोप थियो ।

सरकारले अहिले निषेधाज्ञा खुलेको र यसले यातायात लगायत धेरै क्षेत्रमा समस्या सृजना गरेको बताउँदै यो असामान्य वर्ष भएको र आगामी दिनमा पनि यसको असर हुँदै जाने भएकाले त्यसबारे सबै सचेत हुन जरुरी रहेको बताए ।

‘अहिले सरकार स्मार्ट हुने होइन र फैलने हो । तर अहिले सरकार हात्ति हिँडेको जस्तो अगाडि बढेको छ,’ उनले भने ।

उनले सहरबाट मान्छे गाँउ गए भन्दैमा गाँउको कृषिमा बाहार नआउने बताउँदै कृषिमा कस्ता समस्या छन ती समस्या समाधानका लागि काम गर्नुपर्ने बताए ।

उनले यस्तो अवस्थामा नयाँ कुरालाई व्यवस्थित गर्नका लागि कानून निर्माण गर्न आवश्यक रहेको बनाए ।

‘अहिले डिजिटाइजेशन शुरु भएको छ, त्यसलाई सँगै लिएर जान सकिन्छ । यो बेलामा सबैले गरेको गल्तीबाट सिक्दै अबको दिनमा सुधार गरेर जानुपर्छ,’ उनले भने ।


क्लिकमान्डु