भोलिदेखि सार्वजनिक सवारी साधन चलाउन व्यवसायी तयार, यस्तो छ तयारी



काठमाडौं । कोरोना भाइरसबाट लामो समयसम्म कोमामा रहेका लामो, छोटो र मझौला सबै प्रकारका सवारीसाधन सञ्चलान हुने भएका छन् ।

करिब ६ महिना पूर्णरुपमा थन्किएको सवारी साधन व्यवसायीहरूको माग अनुरुप असोज १ गतेदेखि सवारीसाधन खोल्ने भएका हुन् ।

गत शुक्रबार व्यवसायी संघ र तीनवटा मजदूर संगठनले भौतिक, यातायात तथा पूर्वाधार मन्त्री वसन्तकमार नेम्बाङलाई भेटेर असोज १ गतेबाट सबै खालका यातायात चल्न पाउनुपर्छ भने माग राखेका थिए ।

त्यस्तै सोमबार केही मन्त्रीले असोज ५ गतेबाट सार्वजनिक यातायात खुल्ला गर्ने निर्णय गरेका बताएका थिए । तर, मंगलबार भने सरकारको प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले असोज १ गतेबाट नै लामो दूरीका सार्वजनिक यातायात चल्ने निर्णय गरेको बताएका छन् ।

त्यसअनुसार यातायात कर्मचारी तथा व्यवसायीले सरकारले तोकेको मापदण्ड पूरा गरेर मात्रै सवारी चलाउन पाउने जनाएको छ । त्यसैगरी सबै खालको सवारीसाधनकोे सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रुहरू राखी सरकारले तोकेअनुसार साविक भाडा दरमा ५० प्रतिशत थप भाडा लिएर गराउनुपर्ने अध्यक्ष कर्माचार्यले बताए ।

तयारी अवस्थामा यातायात व्यवसायी
सरकारले असोज १ गतेबाट सवारी यातायात चलाउने निर्णय गरेसँगै व्यवसायीहरू सवारीसाधन चलाउनका लागि तयारी अवस्थामा रहेको यातायात राष्ट्रिय व्यवसायी महासंघले जनाएको छ ।

विगत ६ महिनादेखि कोमामा रहेको सवारी साधनको भोलिदेखि चलाउनको लागि मर्मत तथा सम्भारमा व्यवसायीहरू जुटेको महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले जानकारी दिए । साथै, भोलि विश्वकर्म पूजा भएकाले सबै थन्किएका सवारी साधनलाई पूजा गरेर सडकमा ल्याउने उनको भनाइ छ ।

उनका अनुसार थन्किएको सवारीसाधन लगायत विभिन्न जिल्लामा कार्यरत चालक र सहचालकलाई सम्पर्क गरिरहेको बताए ।

‘अधिकांश लकडाउन र निषेधाज्ञाले गर्दा आफ्नो गृहजिल्ला फर्केका छन्,’ उनले भने, ‘अब त्यही सबै कर्मचारीलाई एकजुट बनाएर अगाडि बढ्ने तयारी गरेको छ ।’

साथै, नेपालका सात वटा प्रदेशमा ७ वटा इन्चार्ज रहेको र त्यही अनुसार मजदुरहरूको लागि जानकारी दिँदै आएको उनले जानकारी दिए ।

असोज १ गते विश्वकर्मा पूजा रहेकाले सामान्य रुपमा मनाउने र क्रमशः विस्तारै सबै चलाउँदै जाने उनको दाबी छ ।

‘गाडी सबै बनाउनुपर्ने तथा कर्मचारीहरू आ–आफ्नो ठाउँमा भएकाले सबैलाई सम्पर्कमा ल्याउनको लागि खोजी भइरहेको छ । एक्कासी भोलिदेखि नचलेपनि पनि एक दुई हप्तामा द्रुत रुपमा चल्नेछ,’ उनले भने ।

यस्तो छ मापदण्ड
यातायात व्यवासायीले विभिन्न सरकारवालाहरू सँगको भेटघाटपछि भोलिदेखि लामोदुरी, मध्यदुरी, छोटोदुरी र स्थानीय रूट) शुरु गर्ने तयारीका साथ विभिन्न मापदण्ड पुरा गर्नुपर्ने महासंघले जनाएको छ ।

यस्तै सरकारले तोकेबमोजिक चालक, सहचालक, परिचालक, बुकिङ कर्मचारले मास्क, स्यानिटाइजर, पन्जा, फेस भाइजर (चालकबाहेक) लगायतका स्वास्थ्य उपकरणहरू अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ ।

यात्रुहरूले यात्रा अवधिभर माक्स लगाएरु यात्रा गर्नुपर्नेछ । सवारी साधनमा चढ्दा ओर्लदा र लामो तथा मध्यम दुरीको हकमा खाना खाजा खाने समयमा भिडभाड नगरी भौतिक दुरी कायम गर्नुपर्नेछ । सवारी साधनमा चढ्नु अघि यात्रुलाई स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने महासंघले जनाएको छ ।


क्लिकमान्डु