भारतबाट आएका प्याज भन्सारमै रोकिए, १ सय मेट्रिक टन चाइनिज प्याज ल्याइँदै



काठमाडौं । भारत सरकारले सबै प्रकारका प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै बजारमा नेपाली बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको भोलिपल्ट नै बजारमा होलसेल तथा खुद्रा बजारमा प्याजको भाउ बढेको हो ।

हाल खुद्रा बजारमा प्याज प्रतिकेजी १५० रुपैयाँसम्म बिक्री भइरहेको छ ।

मंगलबार मात्रै कालीमाटी फलफूल तथा तरकारी विकास समितिले प्याजको औसत मूल्य ७५ तोकेको थियो । तर, बुधबार भने ५८.६७ प्रतिशतले बढेर प्याजको औसत मूल्य ११९ रुपैयाँ पुगेको छ ।

विगतका दिनमा करिब ८० देखि ९० रुपैयाँमा बिक्री भइरहेको प्याजको मूल्य बढेपछि बजारमा प्याजमा कालोबजारी शुरु भइसकेको छ ।

दैनिक ६० देखि ६२ टन प्याज आयात हुँदै आएकोमा भारतले प्रतिबन्ध लगाएपछि प्याज आउन छोडेको समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए ।

भारतबाट नेपालतर्फ सामान आउँदा करिब ४ दिन देखि १ हप्तासम्म समय लाग्छ तर, यो बीचमा आयात भएका प्याज कता गए भन्ने बारेमा समितिलाई कुनै जानकार छैन् ।

‘सोमबारदेखि प्रतिबन्ध लगाए त्योभन्दा अगाडि नेपालमा आयात भएको प्याज प्याजको गाडी आउनुपर्ने हो तर आएन,’ उनले भने ।

नेपालमा आयात हुने प्याजमा भारतबाट मात्रै ९९ प्रतिशत प्याज आयात हुन्छ । समितिका प्रवक्ता श्रेष्ठका अनुसार व्यापारीसँग रहेको मौज्दातको प्याज दिने हो भने २/३ दिन मात्रै धान्न सक्ने क्षमता रहेको बताए । तर, बजारमा प्याज नै आउन छोडेपछि व्यापारीहरूले लुकाएर बेच्ने, मूल्य वृद्धि गर्ने जस्ता कार्यहरू भइरहेको उनको भनाइ छ ।

सोमबारदेखि प्याज आयातमा बन्द
यस्तै, भैरहवा नाकाबाट आयात गर्ने आयातकर्ता राजेन्द्र बानियाँका अनुसार भारतले आकस्मिक प्याज आयातमा रोक लगाएका सोमबारबाट कुनै प्याज आयात नभएको जानकारी दिए ।

साथै, मौज्दात सबै प्याज बिक्री भइसकेको उनले बताए । उनका अनुसार आयात भएका सबै प्याज आउने वित्तिकै बजारमा पठाएकाले कुनै पनि प्याज मौज्दातामा नरहेको उनको भनाइ छ ।

‘दैनिक ५ लाख केजी प्याज आयात गरेकोमा बन्द गर्ने बित्तिकै ल्याउन सकेको छैन,’ उनले भने, ‘हामीले नै भारतबाट प्याज ल्याउन नसकेको अवस्थामा कसरी काठमाडौं पठाउने ।’

साथै, आफूसँग प्याज नभएकाले व्यापारीहरूले आलु पनि लान छोडेको उनको भनाइ छ ।

यसैरी भारतबाट नेपालमा आयातका लागि बाटोमा आइपुगेको सामान बोर्डरमा रहेका भन्सार क्लियरेन्स एजेन्टले सामान भारततर्फ फिर्ता पठाएपछि नेपा भित्र्याउन नसकेको व्यवसायी उज्वल कार्कीले जानकारी दिए ।

‘आकस्मिक प्रतिबन्ध लगाएकाले बोर्डरको एजेन्टले क्लियरेन्स गरिदिएका छैनन,’ उनले भने, ‘यदि सामान ल्याएको खण्डमा जरिवाना र सामान पनि जफत हुन्छ भने पनि सामान सबै भारतमा नै फर्केको छ ।’

१० वटाभन्दा बढी गाडी फिर्ता
भारतबाट आउने भनिएको १० वटाभन्दा बढी प्याज बोकेका गाडी भारततर्फ नै फिर्ता भएको कार्कीले बताए । प्याज तथा आलु आयात गर्ने ५१ व्यवसायीले यो अवधिमा अर्डर गरेको प्याज बीचबाटैबाट फिर्ता पठाएको कार्कीको भनाइ छ ।

बोर्डरबाट नेपालमा आयात गर्न नदिएसँगै बजारमा समस्या हुन थालेको उनले बताए । साथै, उपत्यकामा झन प्याज निकै कम रहेको छ । उनका अनुसार सबै व्यवसायीसँग भएका मौज्दातको प्याज पनि हिजोबाट सकेको बताए । प्याज धेरै राखेको अवस्थामा बिग्रिने भएकाले व्यवासायीले प्याज मौज्दातमा नराख्ने उनको दाबी छ ।

यसैगरी भारतले प्याजमा प्रतिबन्ध लगाएसँगै केही व्यापारीहरूले ६० रुपैयाँमा पाउने प्याज ८० रुपैयाँसम्म पनि बिक्री गरिरहेका छन् ।

तर, कालीमाटी बजारबाट लगेर खुद्रामा बिक्री गरिरहेको व्यवसायीले अधिकतम मूल्य बढाएर बेच्ने गरेको व्यवसायीहरूको भनाइ छ । आजदेखि कालीमाटीका व्यापारीसँग नै प्याज नभएकाले झन समस्यामा पर्ने उनले बताए ।

चीनबाट ल्याउने तयारी
भारतले प्याज ल्याउन प्रतिबन्ध लगाएपछि व्यवसायीहरूले चीनबाट प्याज ल्याउने तयारी गरेका छन् । ५१ वटा व्यवसायीमध्ये ४/५ जनाले चीनबाट प्याज ल्याउनका लागि तयारी शुरु गरिसकेका छन् ।

‘अबको १०, १५ दिनमा नेपाली बजारमा प्याज आउनेछ,’ कार्कीले क्लिकमान्डूसँग भने, ‘विगतको दिनमा तातोपानी नाकाबाट ल्याउन सजिलो हुन्थ्यो भने अहिले केरूङ नाकाबाट ल्याउने भएकाले ढुवानीको खर्च बढी लाग्नेछ ।’

जसले गर्दा चीनको प्याज पनि ८० रुपैयाँदेखि एक सय रुपैयाँ पर्ने उनले अनुमान लगाएका छन् ।

अनुगमन तीव्र
बजारमा प्याजको कालोबजारी शुरू भएसँगै उपत्यकाका महानगरपालिका र उद्योग, वाणिज्य तथा अनुगमन विभागले अुमगनम बढाएको छ । मंगलबार मात्रै विभागको टोलीले ६ वटा व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको विभागका निर्देशक रविन्द्र आचार्यले जानकारी दिए ।

कालीमाटी बजारस्थित तीन वटा थोक बजार र तीन वटा भण्डारण गर्ने व्यवसायीलाई कारबाही गरेको उनको भनाइ छ । उनका अनुसार बजार अनुगमन गर्दा व्यवसायी नरहेता पनि वरिपरि रहेका बजारका व्यवसायीहरूबाट थाहा पाएर पसलमा ३ दिन भित्र आयात तथा बिक्री गरेको सामानको विस्तृत विवरण लिई विभागमा उपस्थित हुन सूचना जारी गरेको उनले बताए ।

यसका साथै, तीन दिनभित्रमा विभागले बताएअनुसार कागजात लिई उपस्थित नभएका व्यापारीलाई ५ हजार देखि ३ लाखसम्म जरिवाना र अन्य सजाय हुने जनाएको छ ।

यसैगरी काठमाडौं महानगरपालिकाका कृषि विभागले आज मात्रै बल्खु तरकारी बजारमा सञ्चालित एसके सप्लायर्स र चुली सगरमाथा ट्रेडर्सका प्रोपाइटरलाई कालोबजारी गरेको भन्दै महानगरीय प्रहरी वृत्त कालीमाटीको जिम्मा लगाइएको छ ।

एकै व्यक्तिले दुईवटा फर्म दर्ता गरेर होलसेल र खुद्रा व्यापार गरेको र उनकै होलसेलमा करिब २१९ बोरा प्याज हुँदाहुँदै खुद्रा पसलमा छैन भनेर बिक्री नगरेपछि उनलाई कालोबजारी गरेको आरोपमा आवश्यक कारवाही गर्न प्रहरीको जिम्मा लगाइएको हो ।

यसका साथै, अनुगमन विभागले उपत्यकाका तीन वटै सिडियोलाई अनुगमन गर्न भनिएको जनाएको छ । साथै, आज पनि विभागले काठमाडौंका विभिन्न क्षेत्रमा अनुगमन शुरु गरेको आचार्यको भनाइ छ ।


क्लिकमान्डु