रविन्द्र मिश्रले भने- कुलमानलाई पुनः नियुक्ति नदिनु भ्रष्ट राजनीतिको नमूना



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले मंगलबारदेखि औपचारिक बिदाई लिएका छन् । उनको पुनः नियुक्ति हुने आशा अझै बाँकी छ ।

सरकारले उनलाई पुनः नियुक्ति नदिएकामा सामाजिक सञ्जाल तथा सडकमा समेत प्रदर्शन भइरहेको छ । बुधबार मात्रै राजधानीको बालाजु तथा जोरपाटीमा प्रदर्शन भयो ।

प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशकहरु नै कुलमानको पुनः नियुक्ति हुने र उनी पुनः एधा दिन पछि दोस्रो कार्याकालका लागि आउने विश्वास गरिरहेका छन् ।

यद्यपी, ऊर्जा मन्त्रालयले मंगलबार नै प्राधिकरणका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।

प्राधिकरणका आधिकारिक कर्मचारी यूनियनले समेत १५ दिनभित्रै कुलमान पुनः नियुक्ति भएर आउने र स्वागत गर्न पाइने बताएको छ ।

सरकारले उनको पुनः नियुक्ति नगरेकामा सामाजिक सञ्जालमा समेत आक्रोश व्यक्त भइरहेको छ । यसै सन्दर्भमा साझा पार्टीका संयोजक रविन्द्र मिश्रले कुलमानको पुनः नियुक्ति गर्न माग गरेका छन् ।

उनले ट्वीटरमा प्राधिकरणको कार्यकार निर्देशकमा कुलमानलाई दोस्रो कार्यकालका लागि नियुक्ति दिनुपर्ने बताएका छन् । बुधबार उनले गरेको ट्वीटमा धेरै अन्तर्राष्ट्रिय संस्थामा २ वर्षको करार सेवा दिइने भन्दै कुलमनालाई पुनः नियुक्तिका लागि माग गरेका छन् ।

उनले भनेका छन्, ‘राम्रो काम गरेर नियमले नरोक्ने भए त्यसलाई खुसीसाथ नवीकरण गरिन्छ । विज्ञापन गर्छौ , तिमिले फेरि पनि निवेदन देऊ भनिदैन, ’ उनले अगाडि भने, ‘कुलमानजीले असाधारण काम गरेका हुन् । उनलाई दोस्रो कार्यकाल नदिनु पद्दती होइन, भ्रष्ट राजनीतिको चरम नमूना हो ।’

यस्तै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले समेत यसअघि नै कुलमानको पुनः नियुक्ति हुने विश्वासमा आफू रहेको भन्दै ट्वीट गरिसकेका छन् ।

यसैबीच पुनः नियुक्तीको माग गर्दै बुधबार माइतिघर मण्डलामा प्रदर्शन गरेका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा हानेको छ ।


क्लिकमान्डु