तनहुँमा ‘फुड बैंक’ स्थापना   



फाइल तस्बिर

तनहुँ । कोरोना सङ्क्रमण महामारीको मारमा परेका विपन्न र रोजगारी गुमाएका परिवारलाई लक्ष्य गरी डुम्रेमा ‘फुड बैंक’ स्थापना गरिएको छ ।

डुम्रेस्थित युनिटी गु्रपमा आबद्ध युवाले ‘फुड बैंक’ स्थापना गरी खाद्यान्न सङ्कलन गरिरहेका छन् ।

‘हुनेले दिने र नहुनेले लैजाने’ भन्ने मूल नाराका साथ युवाले स्थापना गरेको ‘फुड बैंक’ बाट एक व्यक्तिलाई एक पटकमा साढे चार किलो चामल, एक पोका नुन र एक पोका सोयाबिनलगायत सामग्री वितरण गरिरहेको सूहका संयोजक विक्रम गुरुङले बताए ।

उनले कोरोना सङ्क्रमण महामारीका मारमा परेका विपन्न, अपाङ्गता भएका, वृद्धवृद्धा र रोजगारी गुमाएका परिवारलाई भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले खाद्यान्न पुर्‍याउन ‘फुड बैंक’ स्थापना गरिएको बताए ।

उनले स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक दाताहरुबाट सहयोग जुटाउने कार्य थालिएको बताए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मङ्गलबार उक्त बैंकको उद्घाटन गर्दै युवाको समूहले राम्रो कामको शुरुआत गरेको र यसमा गाउँपालिकाले पनि हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सो गाउँपालिका वडा नं १ का वडाध्यक्ष भानुभक्त पोखरेलले यस्तो सकारात्मक कार्यमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।


क्लिकमान्डु