असोज १ गते हवाई उडान हुन नसक्ने, व्यवसायीले भने- ५०% क्षमतामा सञ्चालन गर्न सकिन्न



काठमाडौं । सरकारले असोज १ गतेदेखि आन्तरिक हवाई उडान खुला गर्ने भने पनि वायुसेवा कम्पनीहरुले भने तयारी नभएको भन्दै निर्धारित मितिदेखि हवाई उडान सञ्चालन गर्न नसक्ने स्पष्ट पारेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले शुरुमा असोज ५ गतेदेखि आन्तरिक हवाई उडान खुला गर्ने निर्णय भएको भन्दै सार्वजनिक भएपनि मंगलबारको पत्रकार सम्मेलनमा भने असोज १ गतेदेखि नै हवाई उडान सञ्चालन गर्ने जानकारी दिइएको थियो ।

तर हवाई कम्पनीका सञ्चालकहरुले भने तयारी नपुगेको भन्दै असोज १ गतेदेखि नै हवाई उडान सञ्चालन गर्न नसक्ने स्पष्ट पारिसकेका छन् ।

‘हालसम्म सेड्युल पनि छैन, बुकिङ खुला गरेको पनि छैन, त्यसमाथि हामीले ५० प्रतिशत क्षमतामा मात्रै उडान गर्न सक्दैनौं,’ बुध्द एयरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले भने ।
उनका अनुसार सरकारले भने बमोजिम ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न सकिन्न ।

सरकारले हवाई कम्पनीहरुले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्न दिने निर्णय गरेको थियो । तर भाडा भने ताकेको थिएन । भाडाको विषयमा पर्यटन मन्त्रालयले समन्वय गर्ने जानकारी दिएको थियो ।

बुधबार यसै विषयमा वायुसेवा कम्पनीहरुको एसोसिएसनका प्रतिनिधिहरुसँग पर्यटनमन्त्री योगेश भट्टराईसँगले छलफल गर्दैछन् । जसमा कसरी हवाई उडान सञ्चालन गर्ने भन्ने विषयमा छलफल हुनेछ ।

छलफलमा व्यवसायीका माग र भाडाका विषयमा छलफल हुनेछ ।

यता व्यवसायीहरुले हालसम्म टिकट बुकिङ नै नभएको, बुकिङ खुला नै गरेको र सेड्युल नै नपाएको अवस्थामा भोलिदेखि नै उडान गर्न सक्ने अवस्था नभएको बताएका छन् ।

श्री एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार हालसम्म श्री एयरलाइन्सले न त टिकट बिक्री गरेको छ, न त बुकिङ नै खुला गरेको छ । सेड्युल पनि पाएको छैन । यस्तो अवस्थामा सरकारले भने बमोजिम असोज १ गतेदेखि नियमति हवाई उडान सम्भव नभएको स्पष्ट पारे ।

यता यति एयरलाइन्सले पनि असोज १ गतेदेखि नै नियमित उडान गर्न सकिनेमा यकिन नभएको जानकारी दिएको छ ।

कम्पनीका सीइओ अनुज रिमालले क्लिकमाण्डूसँग कुरा गर्दै भने, ‘हालसम्म टिकट बिक्री भएको छैन, तर सेड्युल पाएको अवस्थामा र टिकट बिक्री भएमा उडान गर्न सकिन्छ, यद्यपि हालसम्म त्यो अवस्था छैन ।’


क्लिकमान्डु