एसिड पीडितहरुको जीवनभरको उपचारको जिम्मा सरकारले लिने



काठमाडाैं । सरकारले एसिड आक्रमणमा परी घाइते भएकाहरुको जीवनभरीको उपचारको जिम्मा लिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसिड आक्रमणमा परी घाइतेहरुको उपचारको समपूर्ण जिम्मा सरकारले लिने निर्णय गरेको हो ।

यस्तै सरकारले एसिड पीडितहरूको क्षमता विकास तथा सिप विकास, शिक्षा र रोजगारीका लागि पनि सरकारले व्यवस्था गर्ने भएको छ ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले सीप विकासको अवशर मिलाउँदै योग्यता अनुसारको रोजगारी पनि उपलब्ध गराउने निर्णय भएको बताए ।

त्यस्तै पेसा व्यवसाय तथा स्वरोजगार हुन चाहनेका लागि सहुलियत पूर्ण ऋण उपलब्ध गराउनेसमेत निर्णय भएको छ ।

एसिड आक्रमणमा परी घाइते भएकाहरूलाई अस्पतालसम्म पुर्‍याउने बेलासम्म सफा पानी खन्याउँदै लैजानुपर्छ भन्ने जनचेतनाका कार्यक्रम समेत संचालन गरिने सरकारले निर्णय गरेको छ ।

यस्तै भदौ २५ गतेलाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा मनाउने निर्णय पनि सरकारले गरेको छ । यस्तै १५ दिनभित्र कानूनको मस्यौदा तयार गर्ने र सरकारका निर्णयहरुको कार्यन्वयनका लागि मुख्य सचिवको संयोजकत्वमा प्रत्येक मन्त्रालयका सचिहरु सदस्य रहने गरी समिति गठन गर्ने निर्णय पनि भएको छ ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मुख्य सचिवले तोकेको एक जना सहसचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ । मन्त्रिपरिषदले गत भदौ २५ मा प्रधानमन्त्रीले घोषणा गर्नुभएका कुराहरुलाई निर्णय गरेको हो ।

त्यसैगरी एसिड पीडितहरुले व्यवसाय गर्न चाहेमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने र यसका लागि अर्थमन्त्रालयलेल समन्वय गर्नेछ । साथै कृषि व्यवसाय गर्न चाहेमा पीडितहरुलाई अनुदान उपलब्ध गराइनेछ । यसका लागि कृषि मन्त्रालयले समन्वय गर्नेछ ।


क्लिकमान्डु