विभिन्न आयोजनामा कार्यरत विदेशी कामदार ल्याउन अनुमति दिने सरकारको निर्णय



निर्माणाधीन गाैतम बुद्ध विमानस्थल

काठमाडौं । सरकारले नेपालमा सञ्चालित विभिन्न विकास निर्माणका आयोजनामा कार्यरत आवश्यक विदेशी प्राविधिक जनशक्ति ल्याउनका लागि अनुमति दिने निर्णय गरेको छ । त्यस्ता जनशक्तीहरूले नेपाल आउनका लागि विमान चढ्नु अघि ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट ल्याउनु पर्नेछ ।

त्यस्ता जनशक्तिहरु आयोजनाले व्यवस्थापन गरेको आवासमा बस्नुपर्नेछ ।

हाल नेपालमा विभिन्न विकास आयोजामा विदेशी कामदारहरु कार्यरत छन् । उनीहरु घर बिदामा गएका बेलामा नेपालमा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएपछि आउन पाएका छैनन् । जसका कारण आयोजनाको काम ठप्प भएको छ ।

निर्माणको अन्तिम चरणमा रहेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत ४० जना चिनियाँ कामदारहरु चिनियाँ नयाँ वर्ष मनाउन गएको बेलामा अन्तर्राष्ट्रिय हवाई उडान बन्द भएकाले आउन पाएका छैनन् ।

जसका कारण विमानस्थल निर्माणको काम प्रभावित भएको छ । त्यससँगै विभिन्न अन्य आयोजनामा कार्यरत विदेशी जनशक्तिहरु पनि नेपाल आउन पाएका छैनन् ।

सरकारले विकास निर्माणको काम प्रभावित नहोस् भन्ने उद्देश्यले विदेशमा रहेका त्यस्ता विदेशी जनशक्तिहरुलाई पीसीआर रिपोर्टका आधारमा नेपाल आउन दिने निर्णय गरेको हो ।


क्लिकमान्डु