मेनस्ट्रिम भर्सेस सोसियल मिडिया: रमेश घिमिरेको लेख



युट्युब, फेसफुक पेज, अनलाइनहरुले पत्रकारिताको बदनाम गरे, यसमा काम गर्ने पत्रकार होइनन्, यिनलाई नियमन र नियन्त्रण गर्नुपर्छ भन्ने विचार मूलधारका आमसञ्चार माध्यम पक्षबाट व्यक्त भइरहेका छन् ।

मूलधारका पत्रकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्ने भनी टिभी, रेडियो र पत्रिकामा बहस सञ्चालन गर्ने, सम्पादकीय लेख्ने, वरिष्ठ पत्रकारहरुको बाइट लिएर समाचार सामग्री तयार गर्ने गरेको पाइन्छ ।

नेपालमा फेसबुक पेज र युट्युब च्यानल दर्ता गर्नु पर्दैन । यिनीहरु छाडा भए, बनावटी कुरा प्रचारमा ल्याए, भाइरल बन्न जे पनि गर्न थाले । त्यसैले नियन्त्रण गर्नुपर्छ भन्ने धारणा व्यक्त भएको छ । पेज र च्यानलको मात्र कुरा होइन, व्यक्तिगत एकाउन्टबाट समेत अमर्यादित प्रस्तुति भएकाले त्यसलाई समेत नियन्त्रण गर्नुपर्छ भन्ने आवाज छ ।

मूलधारका मिडियाका पनि अडियो, भिडियो र टेक्ट सामाजिक सञ्जालमै राख्नुपर्ने बाध्यता आएको छ । मानिसहरु रेडियो, टिभी र अखबारभन्दा इन्टरनेटमै चाहेको बेला पढ्न, सुन्न र हेर्न मन पराउँछन् ।

दर्ता नभएका मिडियाका अडियन्स धेरै भएपछि मूलधारका पत्रकारको आक्रोश हुन्छ, ‘जनतामै नकरात्मक भावनाको विकास भएको छ, अतिरञ्जित, निराशावादी र सरकारविरुद्ध आक्रोश जन्माउने सामग्री मन पराउँछन् ।’ उनीहरुको निष्कर्ष त उही हुन्छ, ‘त्यसैले पनि त्यस्ता सामाजिक सञ्जाललाई नियन्त्रण गर्नुपर्छ ।’

प्रतिस्पर्धा समानस्तरसँग गरिन्छ । करोडौं लगानी गरेका ठूला मिडियामा विश्वविद्यालयमा डिग्री हासिल गरेका व्यावसायिक जनशक्ति राखेर गरिने पत्रकारिता र बिनालगानी एक्लै सञ्चालन भएका सामाजिक सञ्जालको पत्रकारितासँग कसरी प्रतिस्पर्धा हुन्छ ?

सामाजिक सञ्जालबाट प्रवाह भएका समाचार गल्ती, त्रुटीपूर्ण छन् भने व्यावसायिक पत्रकारले त्यसबारे सत्यतथ्य पत्ता लगाएर आफूले समाचार बनाएर प्रस्तुत गर्ने हो कि अरुको जजमेन्ट गरेर विरोध गर्ने ?

सामाजिक सञ्जालको कारण जनतामा अनाश्वयक निराशा, आक्रोश र विरोधको भावना पैदा भएको छ भने ठूला माध्यमको काम त्यसलाई चिर्ने समाचार सामग्री तयार गरेर प्रस्तुत गर्ने हो । अंकुश लगाउन माग गर्ने होइन । सरकारी र मूलधारका मिडियाको पहुँच र विश्वास धेरै हुन्छ । जनताले सही धारणा बनाउन पाउँछन् । अरु भाइरल भएर समाज बिगारे भन्ने किन चिन्ता लिनु ? चिन्ता नै छ भने आफू भाइरल भएर समाज सुधार्नुपर्यो ।

समाजिक सञ्जालमा पत्रकारिता गर्नेहरुको मूल्यांकन आम अडियन्सले गरिहाल्छन् । सामाजिक सञ्जालहरु स्वनियन्त्रण र नियमनको प्रणाली हुन्छ । टिभी, रेडियो र अखबारमा एकोहोरो सञ्चार हुन्छ ।

लेखक घिमिरे

सामाजिक सञ्जालमा कसैले गल्ती भन्यो भने जानकारले कमेन्टमा खण्डन गरिदिन सक्छ । कसैलाई एक गिलास नूनपानी मात्र दिइयो भने चर्को वा बिलनो भएर उसका लागि अनुपयुक्त हुन सक्छ । सामाजिक सञ्जाल भनेको एक गिलास नूनपानीको साथमा एक बाल्टी स्वच्छ पानी र एक बट्टा नून पनि साथमै उपलब्ध हुनु हो ।

एकातिर सामाजिक मिडियामा सामग्री प्रस्तुत गर्ने कोही होइनन् भनेर अवमूल्यन गर्ने र अर्कोतिर तिनकै खेदो खन्न समय खर्चने काम मूलधार पत्रकारहरुबाट हुने गरेको देखिन्छ । उनीहरु केही होइनन् भने उनीहरुले गरेको कामको आलोचना किन गर्नुपर्यो ? उनीहरु कुकुर र मूलधारका मिडिया हात्ती हुन् भने कुकुर भुक्दैमा हात्तीले जवाफ फर्काउँदै हिंड्नुपर्छ र ?

सामाजिक सञ्जालमार्फत सञ्चारकर्म गर्नेलाई पछ्याएर आप्mना सामग्री तयार गर्ने मुलधारे पनि धेरै भइसकेका छन् । युट्युबहरुमा अन्तरवार्ता दिएर जनमानसमा स्थापित भइसकेका व्यक्तिलाई ठूला मिडियाले बोलाएर अन्तरवार्ता लिने गरेको देखिन्छ । युट्युबरले समाचार बनाएका घटनालाई ठूला मिडियाले पछ्याएको पनि देखिन्छ । युट्युबरहरुले उठाएको मुद्दामा जनरुचि देखिएपछि मूलधारका त्यही मुद्दामा सागम्री बनाउने गरेको पनि पर्याप्त देखिन्छ ।

पत्रकारितालाई समाजको दर्पण मानिन्छ । तर ठूला आम सञ्चार माध्यम पूर्णत समाजको दर्पण बन्न नसकेको पाइन्छ । केही ठूला मिडिया मिलेर सिण्डिकेट गर्ने, एजेण्डा सेटिङ गर्ने, मिसन सञ्चालन गर्ने जस्ता सम्भावना हुन्छ । सोसियल मिडियाले त्यस्तो प्रभावलाई निस्तेज पार्न योगदान गर्छ । धेरै हदसम्म समाजको दर्पण सोसियल मिडियालाई मान्न सकिन्छ । सोसियल मिडियामा कुनै प्रकारको सिण्डिकेट व्यावहारिक हुँदैन ।

वाक तथा अभिव्यक्ति स्वतन्त्रता मानव अधिकारको आधारभूत कुरा हो । पत्रकारिता जगतले यो अधिकार संरक्षणका लागि सबैभन्दा बढी चासो दिनुपर्छ । यो अधिकारको प्रयोग गर्ने माध्यम आमसञ्चारभन्दा बढी सामाजिक सञ्जाल हो । सामाजिक सञ्जालमा जसले जुनसुकै विचार, प्रतिक्रिया र तर्क व्यक्त गर्न सक्छन् । अरुलाई मन पर्ने, नपर्ने, समाजका लागि लाभदायक, हानिकारक जे पनि हुन सक्छन् । त्यो व्यक्त गर्ने र ग्रहण गर्ने मानिसहरुको बुझाइमा भरपर्ने कुरा हो । यसलाई स्वतन्त्र नै छोड्नुपर्छ ।

पत्रकारको नाममा हप्कीदप्की गरेर बोल्ने र जहाँ पनि जबरजस्ती प्रवेश गर्ने व्यक्तिलाई अडियन्सले सामाजिक कारबाही त गर्छन् नै । यसबाट अरुको अधिकार हनन हुनाले प्रशासनले पनि कानुनी कारबाही गर्नुपर्छ । त्यस्तो व्यवहार जुन कुनै ठूला मिडियाका पत्रकार वा जोसुकैले गरे पनि कारबाही गर्नुपर्छ । पत्रकारलाई कानुनले कुनै पनि विशेष अधिकार दिएको छैन ।

आम सञ्चार माध्यमलाई मानिसहरुमा विचार निर्माणको प्रभावकारी माध्यम मानिन्छ । अहिलेको अवस्थालाई हेर्दा त्यस कुरामा ह्रास आएको देखिन्छ । प्रविधिले सामाजिक सञ्जालमा सामूहिक सञ्चार र व्यक्तिदेखि व्यक्तिसम्म दु्रत सञ्चारको अवसर दिलाएको छ ।

सामाजिक सञ्चारले पनि विचार निर्माण महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । एजेण्डा सेटिङ गरेर ‘मिडियम इज द म्यासेज’ सिद्दान्तबाट मानिसहरुमा धारणा निर्माण गर्ने मान्यतामा परिवर्तन आएको देखिन्छ ।


पुष्प दुलाल