सिटिइभिटीले खुला गर्‍यो छात्रवृत्ति आवेदन, यस्तो छ मापदण्ड



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले प्रि–डिप्लोमा (साबिकको प्रा.एसएलसी) तहका लागि छात्रवृत्तिको लागि आवदेन खुला गरेको छ ।
परिषदले २०७७ असोज १९ गतेभित्र आवेदन बुझाउनुपर्ने जानकारी दिएको छ ।

परिषद्का आंगिक, साझेदार तथा निजी स्तरमा सञ्चालित शिक्षण संस्थामा प्रि–डिप्लोामा तहमा भर्ना हुने विद्यार्थीहरूको संख्या जतिसुकै भए पनि प्रत्येक शैक्षिक कार्यक्रममा कोटा संख्यामा छात्रवृत्ति प्रदान गरिने जनाएको छ ।

साथै, परिषद् स्तरमा निर्धारण महाशाखा, पोलिटेक्निक महाशाखा र सामूदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम महाशाखाबाट प्राप्त शिक्षण संस्थाको विवरण अनुसार कायम हुन आउने वर्गीकृत छात्रवृत्ति रहेको कार्यालयले जनाएको छ ।

कुन प्रदेशको कति कोटा ?
परीक्षा नियन्त्रण कार्यालयले विभिन्न शैक्षिक कार्यक्रममा लागि सात वटा प्रदेशबाट २ हजार ६२ जनलाई छात्रवृत्तिको कोटा खुलाएको छ । उक्त जानकारी अनुसार विभिन्न १७ वटा शैक्षिक कार्यक्रमका लागि विभिन्न प्रदेशअनुसार कोटा निर्धारण गरेको छ ।

जसमा प्रदेश १ बाट २१६, प्रदेश २ बाट २१८, बाग्मतीबाट ४२०, गण्डकीबाट १७९, प्रदेश ५ बाट ३३९, कर्णाली प्रदेशबाट ३०० र सुदूरपश्चिकबाट ३९० जनाको लागि कोटा निर्धारण गरेको छ ।

कार्यालयले प्रि–डिप्लोमा इन एग्रीकल्चरदेखि प्रि–डिप्लोमा इन कम्प्यटर एप्लिकेसन एण्ड सेक्रेटरियल मेनेजमेन्टसम्मको लागि छात्रवृत्तिको आवेदन खुल्ला गरेको छ । साथै, छात्रवृत्तिको लागि कार्यालयले लक्षित वर्गअनुसार आरक्षित प्रतिशत पनि तोकिएको छ ।

यस्तै, कार्यालयले आवेदनका लागि ३०० रुपैयाँ तोकिएको छ । अहिले कोरोना महामारीले गर्दा अनलाइनमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ । जसमा आजबाट असोज १९ गतेभित्र बुझाइसक्नु पर्ने कार्यालयले जनाएको छ ।


क्लिकमान्डु