८/१० वर्षयता अख्तियराले राम्रो नेतृत्व पाएनः सूर्यनाथ उपाध्याय, पूर्व प्रमुख आयुक्त



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायले पछिल्लो समय अख्तियारले उदाहरणीय काम गर्न नसकेको बताएका छन् ।

पछिल्लो आठ÷दश वर्ष यता अख्तियारले सानातिना मुद्दा लगाउने तर ठूला मुद्दाहरुलाई नदेख्ने प्रवृति देखा पर्दा उदाहरणीय काम नदेखिएको उपाध्यायले बताए ।

सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा अख्तियारमा दक्ष मान्छेहरु नहुँदा आरोपपत्र सहीढंले तयार नभएकाले साना मसिना केसहरुमा अख्तियार अल्झिएको हुनसक्ने उनले बताए ।

‘अहिले अख्तियारले उदाहरणीय काम गरेको देखिदैन् । सानातिना केसमा मात्रै लागेको देखिन्छ । स्टिङ अपरेसन भनेको छ, तर त्यो पनि २÷३ हजार लिने मान्छे मात्रै पक्राउ गरेको छ । यद्यपि केही ठूला मुद्दाहरु पनि छन् तर धेरै जसो मुद्दाहरु सानातिना मात्रै छन् । अख्तियारको आरोप पत्र पनि दक्ष मान्छेहरुले तयार नपारेको देखिन्छ त्यसकारण त्यहाँ दक्ष मान्छेहरुको खाँचो परेको जस्तो देखिन्छ,’ उनले भने ।

अख्तियारको ओज बढाउनका लागि नेतृत्व चयनमा ध्यान दिन उनले सुझाव समेत दिए । नेतृत्व चयन गर्दा नै होस पुर्याएर नगर्दाको परिणाम देखिएको पछिल्लो ८÷१० वर्षयता देखिएको बताउनुभयो ।

अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुने मान्छेको विगत कस्तो थियो, कुनै उदाहरणीय कार्य गरेको छ या छैन लगायतका विषयमा मूल्याङ्कन गरेर नियुक्त नगर्दा गलत परिणाम आउने गरेको उनले बताए ।

विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउने गरेको उनको भनाइ छ ।

‘अख्तियारमा नियुक्ती गर्दाखेरी जसले नियुक्ती गर्ने हो त्यो मान्छेले होस पुर्याएर नियुक्ती गर्नुपर्छ । सबै विषयको मूल्यांकन र अध्ययन नै नगरी विवादास्पद मान्छे नियुक्त गरेपछि त्यसको नतिजा पनि विवादास्पद नै आउँछ,’ उनले भने ।

अख्तियारमा जागिर खान मात्रै आउने व्यक्तिले राम्रो नतिजा दिन नसक्ने भन्दै उनले काम गर्ने अठोट र लक्ष्य हुनेले मात्रै सही नेतृत्व दिन सक्ने बताए ।

‘अख्तियारमा आउँदै नै एउटा मिसन लिएर आउनुपर्यो । कुनै मान्छे अख्तियारमा जागिर खान्छु भन्ने विचारले आउँछ भने बरु नआएहुन्छ । त्यहाँ बदनाम भइन्छ, केही काम गर्न सकिदैन् । गरेको पनि मान्छेले रुचाउँदैन् । आफूलाई खतरा पनि हुन्छ । तर केही गर्छु, देशका लागि मेरो मिसन छ भने समस्या हुँदैन,’ उनले भने ।

अख्तियार प्रमुख आयुक्त भइसकेका व्यक्तिहरु नै अख्तियाको कारबाहीमा पर्ने, अदालतमा मुद्दा पर्ने, योग्यता नपुगेर अदालतले हटाइदिनु पर्ने लगायतका क्रियाकलापले अख्तियारको लोकप्रियता घट्दै गएको उनले बताए ।

राजनीतिक व्यक्तिले नियुक्त गरेपछि पनि स्वतन्त्र भएर काम गर्नुपर्ने ठाउँमा फेरि पनि व्यवहारीकरुपमा राजनीतिक व्यक्तिको हस्तक्षेप भइराखेको देखिएको उपाध्यायको भनाइ छ ।


क्लिकमान्डु