बाइडेनको चुनावी प्रचारका लागि ब्लुमबर्गले दिए १० करोड डलर चन्दा



कामाडौं । न्यूयोर्क नगरका पूर्व मेयर माइकल ब्लूमबर्गले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी प्रचारमा सघाउन १० करोड अमेरिकी डलर चन्दा दिने घोषणा गरेका छन् ।

यो रकम विशेषगरी फ्लोरिडा राज्यमा चुनावी अभियानमा खर्च गरिने छ ।

आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपतिका दुई उम्मेदवारहरु राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो बाइडेनबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्बेक्षणहरुले देखाएका छन् ।

अझ ‘ब्याटलग्राउन्ड ’राज्यका रुपमा चिनिने फ्लोरिडामा दुबै उम्मेदवारबीच मतान्तर अति झिनो छ ।

अमेरिकामै सबैभन्दा ठूलो राज्यका रुपमा रहेको फ्लोरिडामा विजयी हुन दुबै उम्मेदवारले विशेष ध्यान दिएका छन् ।

दोस्रो कार्यकालको खोजीमा रहेका राष्ट्रपति ट्रम्पलाई फ्लोरिडामा विजयी हुनैपर्ने चुनौती छ ।

अमेरिकी चुनावमा राष्ट्रपतिमा विजयी हुन २७० निर्वाचन मण्डल प्राप्त गर्नु पर्नेछ ।

रिपब्लीकन पार्टीका नेताहरु फ्लोरिडामा विजयी हुनेमा विश्वस्त देखिएका छन् । सन् २०१८ मा सम्पन्न सिनेट चुनावमा पनि यहाँ रिपब्लीकन उम्मेदवार विजयी भएका थिए ।

रिपब्लीकन पार्टीले फ्लोरिडाका ल्याटिनो मतदातालाई आकर्षित गर्न करोडौं रकम खर्चिएको छ ।

पछिल्ला मतसर्बेक्षणले पनि ल्याटिनो समुदायको मत ट्रम्पतर्फ झुकेको देखाएका छन् । यहाँ डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेन पछि पर्न थालेको देखिएको छ ।

अमेरिकी अर्बपति ब्लूमबर्गले गत वर्ष आफैं डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुने भन्दै चुनावी अभियान पनि थालेका थिए ।

उनले चुनावमा करिब १ अर्ब डलर खर्चेका थिए । तर पर्याप्त जनसमर्थन नपाएपछि बाइडेनलाई समर्थन गर्दै चुनावी प्रतिस्पर्धा तयागेका थिए ।

ब्लूमबर्गले यसअघि पनि ट्रम्पलाई पराजित गर्न भन्दै डेमोक्रेटिक पार्टीका लागि करोडौं डलर खर्च गरिसकेका छन् ।

उनले आफ्नो चुनावी कार्यक्रमबाट बचेको करिब १ करोड ८० लाख डलर यसअघि नै डेमोक्रेटिक राष्ट्रिय समितिलाई हस्तान्तरण गरिसकेका छन् ।


पुष्प दुलाल