रेल्वे कम्पनीले माग्यो १३९ कर्मचारी, कुन पदमा कति ?




काठमाडौं । सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीले कूल १३९ जना कर्मचारी माग गरेको छ ।

निकट भविस्यमा नै जयनगर जनकपुर खण्डमा रेल सञ्चालन गर्न लागिएको कम्पनीले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

सो रेलमार्गमा चल्ने रेल नेपाल नजिक भारतमा आएर बसेको छ । आवश्यक तयारी समेत चलिरहेको छ ।

कम्पनीले प्रशासन तथा प्राविधिक कर्मचारी माग गरेको हो । उनीहरुलाई करारमा नियुक्ति गर्न लागिएको हो ।

कम्पनीका अनुसार करार सेवामा खुल्ला प्रतिस्पर्धाका माध्यमबाट कर्मचारी नियुक्ति गर्न लागिएको र सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन भनिएको छ ।

कम्पनीले अधिकृतस्तरका कर्मचारीका लागि २१ वर्ष र सहायक स्तरका कर्मचारीका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेका इच्छुक आवेदकले आवेदन दिन सक्ने जनाएको छ ।

यसअघि कम्पनीले कर्मचारी माग गरेपनि आवेदन परेको थिएन । प्राविधिक कर्मचारीको अभाव रहेको र दक्ष जनशक्ति नभएपछि कम्पनीले माग गरेका पदहरुमा आवेदन पर्न सकेको थिएन ।

कम्पनीका अनुसार अधिकृतस्तरका कर्मचारीका लागि १ हजार र सहायक तहका कर्मचारीका लागि ४०० परीक्षा दस्तुर तोकिएको छ । कम्पनीले यसरी नियुक्त गरिने कर्मचारीको करार अवधि ६ महिना रहेको जनाएको छ ।

कम्पनीले माग गरेको विभिन्न पदका काम गर्न इच्छुक आवेदकले अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्ने जनाएको छ ।

नेपालमा छिट्टै रेल सञ्चालनमा आउने भएको छ । नेपालमा सञ्चालन हुने रेल भारतमा निर्माण सम्पन्न भइसकेको छ ।

भारतको बिहारस्थित हाजीपुरमा २०७६ फागुनमा आएर बसेका २ वटा रेल छिट्टै नेपाल ल्याउने तयारी थालिएको छ ।

जनकपुर-जयनगर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारी छ । ती रेल गत फागुनमा नै निर्माण सम्पन्न भएपनि कोरोनाका कारण नेपाल ल्याउन समस्या भएको हो ।

कूल ८४ करोड ६५ लाख रुपैयाँमा भारतको कोंकण रेल्वे कर्पोरेसनसँग जिटुजीमा खरिद गरिएका दुईवटा रेल यही महिनाभित्रै ल्याउने सरकारको तयारी छ ।

जनकपुरदेखि बर्दिवाससम्म भारतको सहयोगमा निर्माण भइरहेको रेल्वे ट्रयाकमा पहिलो चरणमा जनकपुर-जयनगरसम्म ३४ किलोमिटर रेल्वे सञ्चालन गर्ने तयारी गरिएको छ ।

दोस्रो चरणमा जनकपुर-कुर्थादेखि विजलपुरासम्म ४६ किलोमिटरमा सञ्चालन गर्ने सरकारको तयारी छ ।

रेल विभागका अनुसार सो क्षेत्रमा भने अहिले रेल्वे ट्रयाकको निर्माण कार्य भइरहेको छ । त्यस्तै, विजलपुरादेखि बर्दिवाससम्म १७ किलोमिटरसम्म रेल्वे लिगका लागि सर्भे भई जग्गा अधिग्रहणको प्रक्रिया थालिएको छ ।


पुष्प दुलाल