कुलमानको कार्यकाल सकियो, पुनः नियुक्तिका बारेमा निर्णय भएन



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारदेखि पूरा भएको छ ।

पुनः नियुक्तिका विषयमा हालसम्म कुनै निर्णय नभएका कारण उनको कार्यकाल आइतबार पूरा भएको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमबार मात्रै बस्ने बताइएको छ ।

सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा समेत पुनः नियुक्तिका विषयमा प्रस्ताव लगिने वा नलगिने बारेमा हालसम्म केही बताइएको छैन । ऊर्जा मन्त्रालयका कुनै पनि अधिकारी सो बारेमा बताउन चाहँदैनन् ।

४ वर्ष पहिले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको पुनः नियुक्ति गर्नुपर्नेमा जनमत नभएपनि सरकारले किन ढिलाई गरेको हो, सो बारेमा सरकारी निकायबा तर्फबाट हालसम्म केही जानकारी दिइएको छैन ।

ऊर्जा मन्त्रालय स्रोतका अनुसार उनको पुनः नियुक्तिका विषयमा छलफल चलेको भएपनि ठोस रुपमा कुनै प्रस्ताव तय भएको छैन ।

पछिल्ला दिनमा नियुक्तिका बारेमा कार्यविधिमा नै समस्या रहेको भन्दै कुलमानको नियुक्ति हुने वा नहुने भन्ने बारेमा केही भन्न नसकिने मन्त्रालयका एक अधिकारीले बताए ।

तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले २०७३ साल भदौ २९ गते ४ वर्षका लागि नियुक्त भएका कुलमानले आफ्नो कार्यकालमा लोडसेडिङ हटाउनेदेखि प्राधिकरणको आर्थिक स्वास्थ्यमा समेत गुणात्मक सुधार गरेका थिए ।

उनी आफैले प्रधानमन्त्री र ऊर्जा मन्त्रीको प्रत्यक्ष निर्देशनमा सबै काम गरेको बताउँदै आएका छन् ।

कुलमानको पुनः नियुक्तिका विषयमा ठोस निर्णय भएपछि प्राधिकरणका उपकार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिने तयारी गरिएको बुझिएको छ ।

जानकार स्रोतका अनुसार उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य वा हरराज न्यौपाने मध्ये एक जनालाई केही दिनका लागि निमित्त कार्यकारी निर्देशक बनाउने तयारी गरिएको छ ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच कुलमानको पुनः नियुक्तिको विषयमा छलफल भएको थियो ।

स्रोतका अनुसार कुलमानलाई नियुक्तिका लागि सहमति भएको बताइएपनि मन्त्रिपरिषद्को बैठक नबस्दासम्म केही भन्न नसकिने स्रोतको दावी छ ।

सरकारको निर्देशनमा नै काम गरेको भएपनि कुलमानले आफूलाई केन्द्रमा राखेर प्रचार गरेको भन्दै सत्तारुढ नेकपा भित्रका केही नेताले असन्तुस्टि जनाउँदै आएका छन् ।

आजसम्म पुनः नियुक्तिका विषयमा निर्णय नभएकाले तत्काल नै केही भन्न सकिने अवस्था नभएको ऊर्जा मन्त्रालय स्रोतले जनायो ।

अर्को स्रोतले भन्यो ‘ऊर्जाले सोमबारको मन्त्रिपरिषद्को बैठकमा नियुक्तिका विषयमा प्रस्ताव लैजाने वा नलैजाने भन्ने बारेमा समेत हालसम्म केही तयारी देखिदैन ।’

शनिबार ऊर्जा मन्त्री पुन र कुलमानबीच मन्त्रिनिवास पुल्चोकमा समेत कुराकानी भएको थियो । सो कुराकानीमा के छलफल भयो भन्ने बारेमा हालसम्म केही बताइएको छैन ।


पुष्प दुलाल