नेप्सेको टिएमएसमा समस्यै समस्या,लगानीकर्ता मारमा, नियमकले वास्ता नगर्दा प्रधानमन्त्री कार्यालयमा उजुरी



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) मा गम्भिर समस्या देखिएको छ ।

नेप्सेको टिएमएसमा दैनिक जसो समस्या देखिन थालेपछि सेयर लगानीकर्ताले सहज रुपमा कारोबार गर्न पाएका छैनन् ।

टिएमएसमा दैनिक जसो समस्या आउन थालेपछि त्यो समस्याको बारेमा जानकारी गराउँदा नेप्से, वाइको नेपाल र नियमकारी निकाय नेपाल धितोपत्र बोर्डले समेत वास्ता नगरेको भन्दै लगानीकर्ता अर्थ मन्त्रालयदेखि प्रधानमन्त्री कार्यालयसम्म पुग्ने चेतावनी दिएका छन् ।

एक लगानीकर्ताका अनुसार टिएमएसमा पटक पटक समस्या देखिएको र नियमकलाई जानकारी गराउँदा कुनै प्रतिक्रिया नदिएपछि प्रधानमन्त्री कार्यालयमा मौखिक उजुरी दिइएको छ ।

सो उजुरीमाथि प्रधानमन्त्री कार्यालयका अधिकारीले यस बारेमा सम्वद्ध पक्षलाई बोलाएर जानकारी लिने र लगानीकर्ताले भोगेको समस्या तत्काल समाधान गर्न यथासक्य पहल गर्ने बताएका छन् ।

कोरोना भाइरसको कारण सरकारले गरेको लकडाउन तथा निषेधाज्ञाले सेयर बजार पूर्ण रुपमा अनलाइनबाट चलीरहेको छ ।

अनलाइनबाट नै ४ अर्ब रुपैयाँ बढीको सेयर कारोबार भएपछि यति बेला नेप्से निकै मख्ख परेर बसेको लगानीकर्ताको भनाइ छ ।

लकडाउन हुनुभन्दा पहिला त नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) चन्द्रसिंह साउदले अनलाइनबाट धेरै कारोबार भयो भनेर लड्डु समेत बाँडेका थिए ।

नेप्सेको उच्च तहका अधिकारी लड्डुको स्वादमा रमाउँदा लगानीकर्ताले दैनिक समस्या झेल्नु परेको भन्दै लगानीकर्ताले आक्रोष व्यक्त गरेका छन् ।

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार नेप्सेको नेतृत्वले अनलाइनको गुणगान गाएर बस्दा टिएमएसमा आएको समस्या समाधान हुन नसकेको बताउँछन् ।

नेप्सेको टिएमएसमा बारम्बार समस्या आउँदा पनि समाधान गर्न नेप्से नलागेको उनको आरोप छ ।

समस्याको बारेमा नेप्सेसँग कुरा गर्न खोज्दा कसैले पनि फोन नउठाउने र वाइको नेपाललाई पनि समस्याको बारेमा जानकारी गराउँदा कुनै वास्ता नगरेको रौनियारले बताए ।

नेप्सेले लगानीकर्ताको समस्या समाधान गर्न नसकेपछि धितोपत्र बोर्डमा पनि गुनासो गरेको तर बोर्डले उक्त गुनासोमा ध्यान नदिएको उनकोे तर्क छ ।

दैनिक रुपमा टिएमएसमा समस्या देखिने र नेप्से, वाइको, धितोपत्र बोर्डले बेवास्था गर्ने गरेकोले यो समस्या समाधानका लागि अर्थ मन्त्रालयमा नै जानुपर्ने अवस्था आएको रौनियारको तर्क छ ।

यस्तै सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले नेप्सेको गैर जिम्मेवार पूर्ण कामको सिकार लगानीकर्ता हुनुपरेको गुनासो गरे ।

उनले नेप्सेको धेरै हेलचेक्रयाइको कारण लगानीकर्ताले आफ्नो सम्पति दैनिक जसो गुमाउनु परेको बताए ।

यस विषयमा सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डलाई जानकारी गराउँदा नेप्सेलाई स्पष्टिकरण मात्रै सोध्ने र ‘एक्सन’ लिन नसकेको कारण लगानीकर्ता मारमा परेको उनको दावी छ ।

रियल टाइममा कारोबार गर्ने व्यवस्था मिलाउन उनले नेप्से र बोर्डलाई आग्रह गरेका छन् ।

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नेप्सेले तमासा देखाएको आरोप लगाइन् ।

‘टिएमएसले काम गर्न सकेको छैन । लगानीकर्तालाई झुलाउने खेल भएको उनको भनाई छ । यो विषयमा सेबोन, नेप्से, वाइकोसँग कुरा गर्न खोज्दा कोही पनि सम्पर्कमा आउन चाहेनन्’ उनले भनिन् ।

यता नेपाल पुँजीबजार संघका अध्यक्ष संरक्षणा चौधरीले पटक पटक टिएमएसमा समस्या आउनु भनेको नेप्सेको गम्भीर लापरवाही भएको बताइन् ।

नेप्सेका सिइओ साउद अनलाइन कारोबार मज्जाले हुने गरेको भन्दै रट्टान लगाएर बस्ने तर लगानीकर्ताले टिएमएसमा धेरै समस्या भोग्दा पनि ध्यान नदिएको उनको भनाई छ ।

लकडाउनले गर्दा घरबाट अनलाइन कारोबार गर्ने लगानीकर्ताले विगत लामो समयदेखि यस्तो समस्या खेप्नु परेको उनको भनाई छ ।

‘सुरु–सुरुमा समस्या आउदा ठिकै छ प्रविधी हो कहिलेकाहीँ समस्या होला नि भनियो तर सधै यस्तै शैलीले कसरी हुने हो ? नेप्सेले गरेको लापरवाही बारे धितोपत्र बोर्डले पनि केही गरेको छैन’ उनले प्रश्न गरिन ‘पुँजी भित्रने समयमा यसरी कारोबार नै रोकेर के गर्न खोज्या हो ?’ उक्त घटनाको संघले विरोध गर्ने उनको भनाइ छ ।

उनले केही दिन अनलाइन कारोबार रोकेर भएपनि टिएमएममा देखिएको समस्या समाधान गर्नुको विकल्प नभएको उनको दावी छ ।


पुष्प दुलाल