कोरोना जितेका अर्बपति चौधरीले भने- कोरोना केही होइन भन्ने भ्रममा नबसौं



काठमाडौं । कोरोना संक्रमण मुक्त भएपछि अर्बपति व्यवसायी बिनोद चौधरीले अनुभव सुनाएका छन् ।

कोरोनाको संक्रमण लागेको थाहा पाउने वित्तिकै एकैछिन आत्तिए पनि हिम्मत भने नहारेको उनले बताए । उनले कोरोना संक्रमण पुष्टि भए पनि लक्षणहरु नदेखिएकाले पनि मनोबल उच्च राख्न मद्दत पुगेको बताए ।

‘मैले तत्कालै आफूलाई आइसोलेट गरेँ । नर्भिक अस्पतालका डाक्टरहरुको निर्देशनमा मैले व्यवहार परिवर्तन गरेँ । जब मैले संक्रमण भएको जानकारी ट्विटरमार्फत् सार्वजनिक गरे त्यसपछि प्राप्त शुभचिन्तकहरुले दिएको सकारात्मक सुझावले आत्मबल बढाउन सहयोग गर्यो,’ उनले भने ।

उनले कोरोना खासै केही होइन भन्ने भ्रममा नबस्न अनुरोध गर्दै भने, ‘यसको पहिलो लक्षण भनेकै साधारण रुघा हो, त्यो रुघालाई ज्वरो वा खोकीका रुपमा अगाडि बढ्न नदिने नै सबैभन्दा पहिलो चुनौती हो ।’

उनले कोरोना कतिपयले थाहै नपाइ गुज्रिसकेको हुन सक्ने बताउँदै सीमित संख्यामा भइरहेको पीसीआर परीक्षण भएको अवस्थामा धेरैले थाहा नै नपाएको पनि हुन सक्ने बताए ।

उनले कोरोना संक्रमण भएपछि प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रशस्त तातोपानी, अदुवा, बेसार, कागती र गुर्जो जस्ता जडिबुटीको निरन्तरको सेवन, तापक्रमको मापन र नियमित व्यायामलाई निरन्तरता दिएकाले छिट्टै कोरोना संक्रमण मुक्त हुन सफल भएको उनले बताए ।


क्लिकमान्डु