आइतबारदेखि भिसा सेवा शुरु हुने, असोज ११ गतेसम्म विलम्ब शुल्क नलाग्ने



काठमाडौं । अध्यागमन विभागले स्थगित भिसा सेवा आइतबारदेखि शुरु गर्ने भएको छ । विभागले भिसा सेवा भदौ २८ गतेदेखि शुरु हुने जानकारी दिएको हो ।

सरकारले भदौ १६ गतेदेखि सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको थियो । सोही अनुसार हाल सीमित संख्यामा दैनिक ८ सय जना यात्रुले अन्तर्राष्ट्रिय उडानको सुविधा लिइरहेका छन् ।

सरकारले अब अन्तर्राष्ट्रिय उडानको संख्या बढाउँदै दैनिक ३ हजारसम्म यात्रुलाई सेवा दिने तयारी गरेसँगै विभागले पनि स्थगित भएको भिसा सेवा फेरि शुरु गर्ने निर्णय गरेको हो ।

विभागका अनुसार भिसाको म्याद सकिएकाहरुलाई असोज ११ गतेसम्म भिसा शुल्क मात्रै लिइ नविकरण गर्ने र कुनै पनि विलम्ब शुल्क नलाग्ने समेत स्पष्ट पारेको छ ।

विभागका अनुसार गते चैत ८ गतेसम्म भिसा नियमित भएका विदेशीहरु अन्तर्राष्ट्रिय उडान शुरु भएको मितिले १५ दिनभित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र सीमानाका स्थित अध्यागमन कार्यालयबाटै निशुल्क भिसा नियमित गरी प्रस्तान गर्न सक्नेछन् ।

त्यसैगरी उक्त मितिसम्म पर्यटन भिसा नियमित भएका तथा विभिन्न कारणले उडान शुरु भए पनि तत्काल आफ्नो मुलुक फिर्ता हुन नसक्ने विदेशीहरुको हकमा भने साउन ३० गतेसम्म निशुल्क तथा त्यसपछि बढीमा मंसिर मसान्त अर्थात् डिसेम्बर १५ सम्म नियमअनुसार भिसा शुल्क लिइ पर्यटन भिसा नियमित गर्न सक्नेछन् ।

चैत ८ गतेसम्म जुनसुकै भिसा नियमित भएकाहरुको भिसा २०७७ साउन ३० गतेसम्म नियमित गरेमा विलम्ब शुल्क र जरिवाना नलाग्ने भनिएकोमा अब अध्यागमन विभागको सेवा पुनः शुरु भएको मितिले १५ दिनसम्म विलम्ब शुल्क नलिइ भिसा नविकरण गरिने स्पष्ट पारेको छ । त्यसैगरी पर्यटक भिसाबाट अन्य भिसामा रुपान्तरण गर्न चाहनेहरुका लागि पनि विलम्ब शुल्क लाग्ने छैन ।


क्लिकमान्डु