दशैंका लागि ६ करोड खर्चेर खसी, बोका र च्याङ्ग्रा ल्याउँदै खाद्य व्यवस्था कम्पनी



फाइल

काठमाडौं । दशैं नजिकिँदै गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपत्यकाका लागि खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी भएको छ ।

कोरोना भाइरस महामारीले बजार निकै प्रभावित भए पनि दशैंमा खसी, बोका र च्यांग्राको अभाव नहुने कम्पनीको भनाइ छ ।

महामारी नियन्त्रण तथा रोकथामनका लागि लकडाउन गरेसँगै विभिन्न क्षेत्रका उद्योग, व्यवसाय प्रभावित भएका छन् । तर पछिल्लो समयमा सरकारले निषेधाज्ञा आंशिक खुला गरेको छ । तर, बजार भने पूर्ववतरुपमा फर्कन अझै समय लाग्ने व्यवसायीहरूको भनाइ छ ।

तर कम्पनीले भने दशैं जस्तो चाडमा खसी, बोका र च्यांग्राको मासु कम नहोस भन्नका लागि खरिदको प्रक्रिया अगाडि बढाएको हो । कम्पनीका अनुसार १६ सय खसीबोका र १४ सय च्याङ्ग्रा ल्याउने भएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । यसका लागि ५ करोड ९९ लाखको खसीबोका तथा च्याङ्ग्रा खर्च हुने कम्पनीको भनाइ छ ।

जसमा १६ सय खसीबोका खरिदका लागि ३ करोड ३८ लाख र च्याङ्ग्रा खरिदका लागि २ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको सुवेदीले जानकारी दिइन ।

प्रत्येक वर्ष दशैंका बेला कम्पनीले सुपथ मूल्यमा खसीबोका तथा च्याङ्ग्राको अभाव हुन नदिने र कोरानाले प्रभावित भए पनि खपत कम नहुने उनको अनुमान छ ।

‘दशैं ढिला भएका कारण असोजको अन्तिम सातातिर खसी, बोका र च्यांग्रा आइपुग्छ,’ उनले भनिन्, ‘सम्बन्धित जिल्लाका खाद्य व्यवस्था समितिले तोकेअनुसारको मूल्य निर्धारण गरी कम्पनीले सिधै किसानबाट खरिद गर्नेछ ।’

तर, ती खसी बोका र च्यांग्रा ल्याउनका लागि भने टेन्डर आह्वान गरिनेछ ।

कम्पनीले तुलसीपुर, हेटौंडा, मकवानपुरबाट खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । यसका लागि सम्बन्धित जिल्लाका मानिसहरू कुराकानी भइरहेको उनले बताइन् ।

‘सामान्य अवस्थामा भन्दा दशैंको बेला खसीबोका तथा च्याङ्ग्रा अधिकांश मानिसले उपभोग गर्दछ । त्यसैले बजारको मूल्य निर्धारण गर्न तथा आममानिसलाई सहजतापूर्वक उपभोग गर्न पाइयोस भन्ने उद्देश्यका साथ कम्पनीले ल्याउने तयारी गरेको हो,’ उनले क्लिमान्डूसँग भनिन् ।

यसले गर्दा कम आयस्रोत भएका व्यक्तिल पनि उपभोग गर्न सकिने उनको दाबी छ । साथै, खसीबोका तथा च्याङ्ग्राको उपभोगबाट वञ्चित नहुने उनको विश्वास छ ।

कम्पनीले गत वर्ष ६ करोड रुपैयाँ बराबरका ३ हजार २० वटा खसी, बोका र च्यांग्रा खरिद गरेको थियो ।


क्लिकमान्डु