ऋण असूली आक्रमक बन्यो एनआइसी एशिया बैंक: दर्जन बढी ऋणीलाई ३५ दिने अल्टिमेटम



काठमाडौं । कोरोना कहरकै बीच नै एनआइसी एशिया बैंक ऋण असूलीमा आक्रमक बनेको छ । बैंकले धमाधम ऋणीको धितो लिलामी प्रक्रिया शुरु गरेको छ ।

पछिल्ला केही दिनयता बैंकले दिनहुँजसो ऋण तिर्न आउन ३५ दिने सूचना सार्वजनिक गरिरहेको छ ।

तोकिएको समयमा ऋण चुक्ता नभएमा बैंकले धितोमा रहेको चलअचल सम्पति लिलामी तथा बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी आफूले लिनुपर्ने रकम असुलउपर गर्ने सूचनामा उल्लेख छ ।

साथै, ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालो सुचीमा नाम राख्ने जनाएको छ । शुक्रबारमात्र बैंकले एकैपटक ११ ऋणीको कर्जा चुक्ता भुक्तानी गर्न ३५ दिने सूचना सार्वजनिक गरेको छ ।

बैंकले बिहीबार पनि ६ ऋणीलाई ३५ दिनभित्र ऋण कर्जा चुक्ता भुक्तान गर्ने सुचना सार्वजनिक गरेको थियो । बैंकले प्रकाशन गरेको ३५ दिने सूचनामा कृषि फर्म, उद्योग, स्टोर, सप्लायर्स कम्पनी तथा ऋणी परेका छन् ।

यी फर्म, कम्पनी तथा व्यक्तिहरुलाई बैंकले पटक पटक गरी मौखिक र लिखितरुपमा ताकेता गर्दा समेत कुनै पनि चासो नदेखाई बेवास्था गरेकोे हुँदा ऋण चुक्ता गर्न ३५ दिने सूचना प्रकाशन गरिएको जनाएको छ ।


पुष्प दुलाल