इन्जिनियरले यसरी कमाएछन् १७ करोड, साला सालीको नाममा वचत



काठमाडौं । नेपाली समाजका एउटा उखान लोकप्रिय छ, अति गर्नु अत्याचार नगर्नु ।

यस्तै अति माथि अत्याचार गरेका छन्, एक सरकारी कर्मचारीले । सरकारी कर्मचारी घुस्याहा हुन्छन्, उनीहरु घुस नखाई कुनै काम नै गर्दैनन् भन्ने तथ्य समेत स्थापित भएको छ नेपाली समाजमा ।

सोही तथ्यलाई नै बल पुगने गरी नेपाल सरकारका एक प्राविधिक कर्मचारीले झण्डै १७ करोड रुपैयाँ बराबरको अकूत सम्पत्ति कमाएका छन् ।

सिनियर डिभिजनल इन्जिनियर रहेका ती कर्मचारीले आफूले कमाएको सम्पत्ति साला साली, ससुरा, सासु आमादेखि चिने जानेका आफन्तका नाममा समेत जम्मा गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि उक्त कुराको खुलासा भएको हो ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार २०३८ पुस १२ गते ओभरसियर पदबाट सरकारी सेवा प्रवेश गरेका गुग्ताले २०७६ असार ५ गतेसम्म पदमा बहाल रहँदा सम्म नै गैरकानुनी रुपमा पैसा कमाएको देखिएको छ ।

हरेक वर्षको सम्पत्तिको अवस्थाका बारेमा अध्ययन गर्दा गुप्ता जुन जुन कार्यालयमा पुग सोही सोही कार्यालयमा नै सेवाग्राहीसँग घुस मागेको पाइएको छ । यस्तै ठेकेदारसँगको मिलेमतोमा समेत पैसा आर्जन गरेको पाइएको छ ।

अख्तियारले गरेको अनुसन्धानबाट पाइएको तथ्यका आधारमा गुप्ताले पैसा कमाउने मौका यही हो भन्दै जसरी भएपनि पदीय दुरुपयोग गर्नुपर्छ भन्ने व्यवहार देखाएको पाइएको छ ।

अख्तियारका अनुसार गुप्ताकोे वैध आय १ करोड ११ लाख ६९ हजार ९६२ मात्रै रहेको पाइएको छ । उनले १७ करोड ८४ लाख २६ हजार ४५९ बराबरको खर्च तथा लगानी गरेको समेत अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

वैधानिक आयबाट खर्च तथा लगानी घटाउँदा बाँकी रहन आउने रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको रकमको स्रोत नखुलेको पाइएको अख्तियारले जनाएको छ ।

आयोगले गुग्ताका आफन्तहरु अन्जुकुमारी महत्तो, उदितनारायाण प्रसाद रौनियार, चन्द्रेश्वर महत्तो, धिरजकुमार गुप्ता, प्रिती कुमारी गुप्ता , डा रचनाप्रसाह साह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगिता साह रौनियार र सन्तोषकुमार गुप्ताको नाममा खाता खोली १० करोड ४४ लाख ४३ हजार ७८३ बराबरको करम लुकाई छिपाई राखेको पाइएको छ ।


पुष्प दुलाल